काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपमा आफ्नो दोस्रो खेल आज खेल्दैछ ।
समूह एफ मा रहेको आर्मीले दोस्रो खेलमा गोवा फुटबल क्लबको सामना गर्दैछ । आर्मी र गोवा बीचको खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजे जवाहर लाल नेहरु स्टेडियममा हुनेछ ।
आर्मी र गोवा दुवैको प्रतियोगितामा यो दोस्रो खेल हो । आर्मीले पहिलो खेलमा सिलाङ लाजोङसँग १-० गोल अन्तरले पराजित भएको थियो ।
गोवाले पहिले खेलमा रंगदाजिद युनाइटेड फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो । आर्मीले समूह चरणको अन्तिम खेल साउन २९ गते रंगदाजिद युनाइटेड फुटबल क्लबसँग खेल्नेछ ।
आर्मी यस खेल जित्दै नकआउट चरण प्रवेशको सम्भावना कायमै राख्न चाहन्छ । उता, गोवा यस खेलमा जित निकाल्दै अर्को चरण प्रवेशको सम्भावना बलियो बनाउन चाहन्छ ।
लिग चरणपछि हरेक समूहको विजेताले नकआउटमा पुग्नेछन् । त्यस्तै ६ समूह मध्येबाट उत्कृष्ट २ उपविजेता टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल भदौ १५ गते हुनेछ ।