आर्मी तेस्रो खेल खेल्दै

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कप २०२४ मा आफ्नो तेस्रो खेल आज खेल्दैछ ।

समूह एफ मा रहेको आर्मीले तेस्रो खेलमा रंगदाजिद फुटबल क्लबको सामना गर्दैछ । आर्मी र रंगदाजिद बीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे जवाहर लाल नेहरु स्टेडियममा हुनेछ ।

आर्मी र रंगदाजिद दुवैको प्रतियोगितामा यो तेस्रो खेल हो । दुवै टोलीले खेलेका दुवै खेलमा हार बेहोरेका थिए । आर्मीले पहिलो खेलमा सिलाङ लाजोङसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा गोवा फुटबल क्लबसँग २-१ को हार बेहोरेको थियो ।

रंगदाजिदले पहिले खेलमा सिलाङ लाजोङसँग २-० को हार बेहोरेको थियो । दोस्रो खेलमा गोवासँग ४-३ गोलअन्तरले पराजित भएको थियो । प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाईको रुपमा रहेको छ ।

लिग चरणपछि हरेक समूहको विजेताले नकआउटमा पुग्नेछन् । त्यस्तै ६ समूह मध्येबाट उत्कृष्ट २ उपविजेता टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल‌ भदौ १५ गते हुनेछ ।

२०८१ श्रावण २९, मंगलवार मा प्रकाशित