काठमाडौं, साउन ३०
भेट्रान्स फोर्टी प्रालीको आयोजनामा हुने कर्पोरेट क्रिकेट लिगमा २० वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्ने भएको छ ।
भेट्रान फोर्टी प्रालीले बुधबार पत्रकार सम्मेलन गर्दै कपार्रेट क्रिकेट लिगको पहिलो संस्करण आगामी भदौ १ गतेदेखि हुने जनाएको छ ।
ललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर मैदानमा सञ्चालन हुने लिगमा २० कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्ने भएका हुन् । उक्त प्रतियोगिता गोदावरी स्टिल्सको मुख्य प्रायोजनमा हुँदै छ । त्यसका लागि बुधबार नै आयोजक भेट्रान्स फोर्टी प्रमुख कार्यकारी अधिकृत सन्तोष भण्डारी र गोदावरी स्टिल्सका बजार प्रमुख युवराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।
बुधबार नै ‘ड्र’ मार्फत कुल २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक, आइएमई ग्रुप, प्रभु बैंक, सालिको इन्स्योरेन्स तथा समूह ‘बी’ मा जगदम्बा समूह, एनआइसी एसिया बैंक, युनाइटेड अजोड इन्स्योरेन्स, लुम्बिनी बैंक र क्लाउड फ्याक्ट्री छन् । समूह ‘सी’ मा आइसिएफसी फाइनान्स, डोग्मा ग्रुप, सानिमा जेनरल इन्स्योरेन्स, क्वेस्ट फार्मा, नेपाल एसबिआई बैंक तथा समूह ‘डी’ मा केआइइसी, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, अम्बे समूह र कर्मचारी सञ्चय कोष छन् ।
कर्पोरेट ‘टी टेन’ क्रिकेट लिगको विजेता र उपविजेतालाई ट्रफी पाउनेछन् । साथै विजेताले भने आगामी संस्कणमा निशुल्क प्रवेश पाउनेछ । प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ५० हजार रुपैयाँ तोकिएको थियो । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याटर र बलरलाई थाइल्यान्ड भ्रमणको प्याकेज पाउनेछन् । उत्कृष्ट फिल्डर र विकेटकिपरले भने पोखराका लागि दुईतर्फी हवाई टिकट प्राप्त गर्ने भएका छन् । प्लेयर अफ द म्याचलाई ट्रफी र आइएमई पेबाट पेमेन्ट भौचर प्रदान गरिनेछ ।
सर्वाधिक विकेटकर्ताले पर्पल क्याप र रनकर्ताले अरेन्ज क्याप पाउनेछन् । अनुशासित टोली र सर्वाधिक छक्का प्रहार गर्ने क्रिकेटरलाई ट्रफीसहित विशेष पुरस्कारको व्यवस्था गरिएको छ । हरेक टोलीबाट व्यावसायिक क्रिकेटरले पनि खेल्न पाउने भए पनि उक्त कर्पोरेट हाउसमा पछिल्ला ६ महिनादेखि काम गरेको हुनुपर्ने प्रावधान राखिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रत्येक्ष प्रशारण टेलिभिजनमा याक्सन स्पोर्ट्स एचडीले गर्नेछ भने युट्युबमा विकेटनेपालमा हुनेछ।