ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्।
मधेशले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा शुक्रवार जेरामदिनीलाई अनुबन्ध गरेको जनाएकोछ। मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ ।
मधेशले जेरामदिनी आगमनले टोलीको ब्लकिङ पोजिसन शसक्त हुने विश्वास लिएको छ ।
ट्युनिसियाको राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव रहेको बताइएको छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन् । उनको उचाई १ सय ८४ सेन्टिमिटर छ ।
योस्राले मधेश अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् । ‘पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा म मधेश युनाईटेडबाट खेल्दैछु । लिगका लागि म उत्साहित छु । नेपालको नाम धेरै सुनेको छु । म यो सुन्दर देशमा गएर खेल्न उत्सहित छु ।’ मधेशले जनाएको छ।
मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई मधेश टिममा स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने बताईन् ।
नेपाली राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअर रहेको मधेश युनाइटेडमा अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।
जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन् । यस्तै काभा यू२० महिला च्याम्पियनसिप खेले यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् ।
राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेशमा छन् । जसना महतो पनि मधेशको टिममा छिन् । ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग इडब्लुभिएलको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।