काठमाडौं । नेपाल एपिएफ क्लबको महिला फुटबल टोली एएफसि वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा उज्वेकस्तानको नसाफ क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।
मलेसियामा रहेको लिक्सा स्टेडियममा हुने खेल नेपाली समय अनुसार आईतबार साँझ ५ः४५ मा हुदैछ ।
एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो । एसियामा महिला फुटबलको विकासका लागि एसियन फुटबल कन्फेडेरेसन(एएफसि) ले पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली विहीबार राती मलेसिया गरेको थियो।
एपिएफ नेपालबाट महिला लिग च्याम्पियनको हैसियतमा यस प्रतियोगिताका लागि छनोट भएको हो । च्याम्पियनसिपको प्रारम्भिक चरण खेल्न लागेको एपिएफले राम्रो तयारी गरेको राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी नेपाल एपिएफ क्लबकी कप्तान अनिता बस्नेत बताउँछिन् ।
एपिएफबाट खेल्दै आएकी फरवार्ड साबित्रा भण्डारी(साम्बा) हाल व्यवसायिक फुटबल खेलका लागि फ्रान्समा रहेकी छिन् । एपिएफकी महत्वपुर्ण खेलाडी साम्बा क्लबले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा टोलीसँग छैनन् ।
लिगमा २२ सदस्य राष्ट्रका क्लबहरुको सहभागीता रहनेछ । जसमा सन् २०२४ को फिफा वरियतामा टप आठमा परेका राष्ट्रका क्लबहरु समूह चरणका लागि सिधै छनोट भईसकेका छन् । लिगमा एसियामा फुटबलका पावर हाउस मानिएका जापान, चीन, ईन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया लगायत देशका क्लबको सहभागीता रहनेछ । बाँकी १४ राष्ट्रले समूह चरणका लागि प्रारम्भिक चरण पार गर्नु पर्ने हुन्छ ।
प्रारम्भिक चरणमा रहेका १४ देशका क्लहरुलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता च्याम्पियन्सिपको समूह चरणका लागि छनोट हुनेछन् ।
बुधबार अन्तिम खेलमा मलेसियाको सबाह एफसिसँग खेल्नेछ ।