नेदरल्यान्ड्समाथि क्यानडाको जित

नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । सिरिज अन्र्तगतको चौथो खेलमा नेदरल्यान्ड्समाथि क्यानडाले ८ रनको जित हात पारेको हो ।

क्यानडाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन मात्र बनायो ।

नेदरल्यान्ड्सका लागि नोह क्रोसले २८ बलमा सर्वाधिक ३२ रन जोडे । राइन क्लेन र विक्रमजित सिंहले समान २२ तथा माईकल लेभिटले १३ रन जोडे ।

क्यानडाका लागि कलिम साना र प्रविन कुमारले समान २ तथा डिलोन हेलिङ्गर र साद विन जाफरले समान १ विकेट लिए ।

त्यसअघि हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल बनाएको थियो ।

क्यानडाका लागि श्रेयस मोभ्भा र साद विन जाफरले समान ३३ रन जोडे । कप्तान निकोलस किर्तनले १३, डिलोन हेलिङ्गरले १२ तथा हर्ष टाकरले १० रन जोडे ।

नेदरल्यान्ड्सका लागि काइल क्लेन र पल भान मेकरेनले समान ३ , ड्यानियल डोरमले २ तथा विक्रमजित सिंहले १ विकेट लिए ।

सिरिज अन्तर्गत मंगलबार क्यानडा र अमेरिकाबीच खेल हुनेछ ।

२०८१ भाद्र १०, सोमबार मा प्रकाशित