भारतीय कप्तान जिनी कोभात मधेशबाट खेल्ने

भारतकी कप्तान जिनी कोभात मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्।

मधेशले आफ्नो तेस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा मंगलबार भारतीय महिला टोलीकि कप्तान जिनीलाई अनुबन्ध गरेको जनाएको‌ छ।

मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनिया र ट्युनिसियाकी योस्रा जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ । मधेशले‌ जिनीको आगमनले टोलीको सेटर पोजिसन शसक्त हुने विश्वास लिएको छ ।

२८ वर्षिय सेटर जिनीलाई आबद्ध गरेसँगै तीनजना विदेशी खेलाडी अनुबन्ध गर्ने मधेश पहिलो टोली बनेको छ ।

जिनीले युनाईटेडमा अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेशबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् ।

‘मैले यसअघि नेपाल आएर चार पटक खेलिसकेको छु । यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाईटेडबाट खेल्न आउँदैछु । म लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु,’ उनले भनेकि छन् ।

मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले जिनीलाई अनुबन्ध गर्न पाउदा टिम अझ बलियो भएको बताईन् । श्रेष्ठका अनुसार तीन विदेशी खेलाडी घोषणा पछि टिम अझ बलियो हुनेछ ।

नेपाली राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअर रहेको मधेशमा अहिलेसम्म ८ नेपाली र ३ विदेशी गरी ११ खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

२०८१ भाद्र १८, मंगलवार मा प्रकाशित