एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक वात्सल्य

असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने एभरेस्ट महिला भलिबल लिग (एडब्ल्युभिएल) को मुख्य प्रायोजक वात्सल्य नेचुरल आइभिएफ रहने भएको छ।

सोमबार वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र आयोजक इन्फिनिटी ड्रिम्स प्रालिका सिइओ स्नेभी चापागाईँले प्रायोजन सम्झौतामा हस्ताक्षर गर्नुभयो। पहिलो पटक आयोजना हुन लागेको यो महिला भलिबलको फ्रेन्चाइज प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ।

प्रतियोगितामा मधेश युनाइटेड, टिम काठमाडौँ, टिम चितवन, ललितपुर क्विन्स, टिम गण्डकी र टिम कर्णाली रहेका छन्। यी सबै टोलीले आफ्नो मार्की खेलाडीको घोषणा गरिसकेका छन्। टिम गण्डकीले सरस्वती चौधरीलाई, काठमाडौँले उषा भण्डारीलाई, मधेशले निरुता ठगुन्नालाई, ललितपुरले सलिना श्रेष्ठलाई, कर्णालीले सुमित्रा रेग्मीलाई र चितवनले राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेका छन्।

२०८१ भाद्र १८, मंगलवार मा प्रकाशित