हुमोलाई हराउदै पुलिस च्याम्पियन

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रुपमा काभा महिला भलिबल क्लब च्याम्पियनसिपको विजेता भएको छ ।

माल्दिभ्सको मालेमा शनिवार भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई हराउदै पुलिस च्याम्पियन भएको हो ।

लिग चरणमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको पुलिसले हुमो क्लबलाई ३-० को सोझो सेटमा जित हात पार्यो ।

पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेटमा २५-२३ को जित निकाल्दै पुलिस च्याम्पियन भएको हो ।

पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३-० सेटमा पराजित गरेको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३-० सेटले हराएको थियो ।

पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३-२ सेटको जित निकालेको थियो। त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो।

शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३-१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो ।

२०८१ आश्विन ५, शनिबार मा प्रकाशित