काठमाडौं । सुदूरपश्चिम प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा सुदूरपश्चिमले मंगलवार भएको खेलमा कर्णाली प्रदेशमाथि ५ विकेटको जित हात पारेको छ ।
कर्णालीले दिएको ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले ४३ बलमा नट आउट २३ तथा अशोक धामीले ११ बलमा नट आउट १२ रन जोडे ।
कर्णालीका लागि युनिश ठकुरीले ३ तथा विपीन शर्मा र अनुज चुनाराले समान १ विकेट लिए ।
त्यसअघि गिरिजा प्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली ३०.५ ओभरमा ७४ रन बनाउँदै अल आउट भयो ।
कर्णालीका लागि कप्तान मनिष थापाले ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
सुदूरपश्चिमका लागि प्लेयर अफ द म्याचसमेत भएका नरेनले ९ ओभरमा ४ मेडन राख्दै ९ रन खर्चिएर ५ विकेट लिए ।
अशोक धामीले २ तथा सचिन भट्ट, युवराज खत्री र कैलाश ऐरले समान १ विकेट लिए ।
पहिलो खेलमा लुम्बिनी प्रदेशसँग पराजित सुदूरपश्चिमले पहिलो अंक जोडेको छ । हारबाट प्रतियोगिता सुरु गरेको कर्णाली अंक बिहिन रहेको छ ।
कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।