काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।
मंगलवार ओमानको मस्कटमा सम्पन्न खेलमा घरेलु टोलीले नेदरल्यान्ड्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । आफ्नो ओडिआई इतिहासमा पहिलो पटक नेदरल्यान्ड्समाथि ओमानले जित हात पारेको हो ।
नेदरल्यान्ड्सले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य ओमानले ३४.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ओमानको जितमा कप्तान जतिन्दर सिंहले ९५ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ५८ रन जोडे । अशिष ओडेराले ५७ बलमा २७, वासिम अलिले ४१ बलमा नट आउट २४ तथा हमिद मिर्जाले नट आउछ ८ रन जोडे । नेदरल्यान्ड्सका लागि आर्यन दत्त र रोलोफ भान डर मिर्वेले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४०.२ ओभरमा सबै विकेट गुमाएर १ सय ३२ रन मात्र बनाएको थियो । नेदरल्यान्ड्सका लागि बास डि लिडेले ८९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५१, नोह क्रसले ४३ बलमा २९ तथा टिम भान डर गुग्टेनले १२ रन जोडे ।
नेदरल्यान्ड्सका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओमानका लागि शकिल अहमदले ४ तथा अमिर कलिम र समय श्रीवास्तवले समान २ विकेट लिए ।
८ राष्ट्रको सहभागीता रहेको लिगमा जितसँगै ओमान १० खेलमा १० अंकका साथ छैठौं स्थानमा छ । नेदरल्यान्ड्स भने समान खेलमा १२ अंकका साथ चौथो स्थानमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
२०२७ सम्म चल्ने लिगमा शीर्ष ४ देश ओडिआई विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउँने छन् । बाँकी ४ देशले ग्लोबल छनोटमा स्थान बनाउँन प्लेअफ खेल्नु पर्ने हुन्छ ।