यु-१९ राष्ट्रिय क्रिकेट : उपाधीका लागि सुदूरपश्चिम र लुम्बिनी खेल्दै

काठमाडौं । नरेश श्रेष्ठ स्मृती यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीका लागि सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुने भएको छ ।

बुधवार विराटनगरमा रहेको गिरिजा प्रसाद कोइराला क्रिकेट मैदानमा सुदूरपश्चिम र लुम्बिनीबीचको फाइनल खेल बिहान ९ बजेबाट सुरु हुनेछ । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको प्रतियोगितामा ७ टोलीको सहभागीता रहेको थियो । लिग चरणको खेलमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानको लुम्बिनीले फाइनलमा स्थान बनाएका हुन् ।

सन् २०२२ मा भएको अघिल्लो संस्करणमा लुम्बिनी र सुदूरपश्चिमले नै फाइनल खेलेकामा सुदूरपश्चिम च्याम्पियन भएको थियो । लिग चरणको खेलमा सुदूरपश्चिम र लुम्बिनीले समान ५ खेलमा जित हासिल गरेका थिए । सुदूरपश्चिम प्रतियोगिताको पहिलो खेलमा पराजित भएको थियो । सुदूरपश्चिमले पछिल्लो ५ खेलमा लगातार जितका साथ फाइनलमा स्थान बनाएको हो ।

सुदूरपश्चिम प्रदेश लिग चरणको पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो । लिग चरणमा लुम्बिनीले सुदूरपश्चिममाथि ४१ रनको जित हात पारेको थियो ।

लिग चरणको सुरुवाती पाँच खेलमा लगातार जित हात पारेको लुम्बिनी मंगलवार भएको लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग पराजित भयो । कार्तिक १० बाट सुरु यस प्रतियोगितामा ७ प्रदेशको सहभागीता रहेको थियो ।

२०८१ कार्तिक २१, बुधबार मा प्रकाशित