नेपाल प्रिमियर लिग (एनपीएल)को मिनी अक्सन सकिएको छ।
६ टिमले २० लिस्टबाट टिम पूरा गरेपछि एनपीएल सिजन २ को मिनी अक्सन सकिएको हो। नियमित अक्सनबाट काठमाडौं गोर्खाज र कर्णाली याक्सले खेलाडी छानेका थिए।
विकास आग्रीलाई जनकपुर बोल्ट्सले २ लाखमा लिएको छ। क्याटगोरी ‘सी’ का खेलाडी सन्दीप कुमार खत्री क्षेत्रीलाई पोखरा एभेन्जर्सले २ लाखमा लिएको हो। सुदूर पश्चिम रोयल्सले २ लाखमा दीपक बोहोरा, मिलन बोहोरालाई ५ लाखमा लिएको छ।
लुम्बिनी लायन्सले दुर्गेश गुप्ता र आदिल खानलाई न्यूनतम मूल्यमा लिएको छ। चितवन राइनोजले विपिन रावल, विपिन आचार्य, रञ्जित कुमारलाई न्यूनतम मूल्यमा लिएको हो।
शर्वनकेसी र शंकर रानालाई न्यूनतम मूल्यमा विराटनगर किंग्सले अनुबन्ध गरेको छ। २० लिस्ट सकिँदा समेत क्याटगोरी ‘ए’ मा रहेका शरद भेषवाकर र सुनम गौतम अनसोल्ड रहे।
