एनपीएलको दोस्रो संस्करण पारसकै नेतृत्वमा हुने, गभर्निङ काउन्सिलमा दुईजना थप्ने तयारी

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको भव्य सफलतापछि नेपाल क्रिकेट संघ (क्यान) दोस्रो संस्करणको तयारीमा जुटेको छ । क्यान सचिव पारस खड्काले आज दोस्रो संस्करणको तिथि सामाजिक सञ्जालबाट घोषणा गरेका छन् ।

घोषित सेड्यूल अनुसार पहिलोभन्दा दोस्रो संस्करण लामो हुने छ । पहिलो संस्करणमा २० दिनको तालीका थियो, जसमध्ये १५ दिन मात्र खेल भएको थियो । दोस्रो संस्करण भने २७ दिन चल्ने तालिका रहेको छ । यद्यपि, खेलहरूको सङ्ख्या भने नबढ्ने सम्भावना रहेको क्यान स्रोतले बतायो ।

एनपीएलको दोस्रो संस्करणलाई पनि क्यान सचिव पारस खड्काले नै नेतृत्व गर्नेछन् । पहिलो संस्करणमा उनको अध्यक्षतामा बनेको गभर्निङ काउन्सिललाई नै निरन्तरता दिने निर्णय हालै बसेको क्यानको बोर्ड बैठकले गरेको थियो । क्यानभित्रका असन्तुष्ट पक्ष पनि एनपीएललाई पारसले नै नेतृत्व गर्नुपर्नेमा सहमत भएका थिए ।

पहिलो संस्करणमा बनेको गभर्निङ काउन्सिलमा क्यान कोषाध्यक्ष पदम खड्का र बोर्ड सदस्य सुदीप शर्मा सदस्य थिए । दोस्रो संस्करणमा उनीहरू बाहेक थप दुई जना सदस्य थप्ने निर्णय भएको छ । यसका लागि अध्यक्ष चतुर बहादुर चन्दलाई अख्तियारी प्रदान गरिएको क्यान स्रोतले जानकारी दियो । चन्दले सचिव पारस खड्कासँग समेत छलफल गरेर दुई–तीन दिनभित्रै नाम टुंगो लगाउने तयारी गरेको छन् ।

बोर्डभित्रकै चार जनाले गर्भनिङ काउन्सिलको सदस्य बन्न इच्छा देखाएको बुझिएको छ । उनीहरूमध्ये नै दुई जनालाई काउन्सिलमा समावेश गरिने स्रोतको भनाइ छ । गभर्निङ काउन्सिलले पूर्णता पाएपछि एनपीएल दोस्रो संस्करणको तयारी द्रुत गतिमा अगाडि बढ्ने छ ।

दोस्रो संस्करणका लागि फ्रेन्चाइजहरु पनि तातिसकेका छन् । केही दिन अगाडि मिनी अक्सनबाट स्वदेशी खेलाडीहरूको किनबेच भइसकेको छ । फ्रेन्चाइजहरु अब विदेशी खेलाडीदेखि प्रायोजकहरूको खोजीमा जुटेका छन् ।

एनपीएलको दोस्रो संस्करण बिथोल्नका लागि स्वार्थ समूहले निकै कसरत गरिरहेको थियो । पहिलो संस्करणको विषयमा अख्तियारदेखि विज्ञापन बोर्डसम्म उजुरी हालिएका छन् । क्यान सचिव पारस खड्कालाई नै अनियमितमा मुछ्न खोजिएको छ ।

क्यानभित्रको एउटा समूहले पारसलाई निरन्तर घेराबन्दी गरिरहेका थिए । तर, एनपीएललाई निरन्तरता दिनुपर्ने र यसको नेतृत्व पारसले नै गर्नुपर्नेमा भने बोर्ड बैठकमा सबैको मतैक्यता बन्यो । जसले गर्दा एनपीएलको निरन्तरतामाथि उत्पन्न भएका सम्पूर्ण सन्देहहरू हल भएका छन् ।

असन्तुष्ट पक्षका एक बोर्ड सदस्यले आफूहरूलाई एनपीएलको विरोधी जस्तो चित्रण गर्न खोजिए पनि वास्तविकता त्यस्तो नरहेको बताए ।

ती सदस्यले भने, ‘हामी सबै जना एनपीएलले निरन्तरता पाउनुपर्छ भन्नेमा स्पष्ट छौँ । पहिलो संस्करणको हिसाबकिताब सार्वजनिक गर्न ढिलाइ भएकोप्रति मात्रै हाम्रो असन्तुष्टि थियो । हामी पारस विरोधी पनि होइनौँ । पहिलो संस्करणमा उहाँले नेतृत्व गरेकाले दोस्रोमा पनि उहाँलाई नै अघि बढाउने निर्णय भएको छ ।’

एनपीएल पहिलो संस्करणको हिसाब भने क्यानको बोर्ड बैठकले पारित गर्न बाँकी छ । गत साउन १५ गते बसेको बोर्ड बैठकमा हिसाब पेश भएको थियो । असन्तुष्ट पक्षले हिसाब राम्ररी अध्ययन गर्नुपर्ने भन्दै समय मागेको छ ।

प्रस्तुत गरिएको हिसाबले असन्तुष्ट पक्षले चित्त बुझाएको छैन । अर्को बोर्ड बैठकमा पनि हिसाब अनुमोदन हुने अवस्था नरहेको असन्तुष्ट पक्षका ती सदस्यले दाबी गरे । तर, पहिलो संस्करणको हिसाब पारित नहुँदैमा दोस्रो संस्करणको तयारीमा कुनै बाधा नपुग्ने उनको भनाइ छ ।

२०८२ भाद्र ६, शुक्रबार मा प्रकाशित