नेपालमा पहिलोपटक आयोजना भएको डब्लु वान कार्टिंग च्याम्पियनसिपको ( W1 Karting Championship ) उपाधि साकार श्रेष्ठले जितेका छन्।
ललितपुरको बुंगमति स्थित द वन्डरल्यान्ड गेम जोनमा तिन दिन आयोजित प्रतियोगिताको फाइनलमा श्रेष्ठले अमृत्तम भट्ट, शेन विल्सन मोक्तान तथा एन्डरसन मारोस्कीलाई पछि पारे।
ऐतिहासिक उपाधि जितेका साकारले २ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरे। दोश्रो भएका भट्टले १ लाख रुपैयाँ बराबरको तथा तेश्रो भएका मोक्तानले ५० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा करिब १ सय ५० जनाको सहभागिता रहेको थियो।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन भएको मोटरस्पोर्ट इभेन्टमार्फत नेपालमा कार्टिङ रेसिङलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको थियो। प्रतियोगिताले नेपालमा मोटरस्पोर्ट संस्कृतिको विकास गर्न, युवा पुस्तामा उत्साह जगाउन र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने ड्राइभर उत्पादनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।
नेपालकै शीर्ष मनोरञ्जन पार्कको रुपमा स्थापित वन्डरल्यान्ड नेपालले यस अघि पनि गो–कार्टिङ, भर्चुअल रियालिटी, मोटोराइज्ड जिपलाइन, प्रोजेक्सन बाउलिङ, ट्राम्पोलिन, आउटडोर राइड्स तथा आर्केड गेम्सजस्ता आकर्षक र सुरक्षित गतिविधिहरूमार्फत देशभरि लोकप्रियता कमाएको छ। यसअघि पनि वन्डरल्यान्डले “NWC MMA” प्रतियोगिता र “God is Woman” कन्सर्ट सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
मनोरञ्जन र साहसिक अनुभव खोज्ने नेपाली तथा पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपाल निरन्तर उत्कृष्ट गन्तव्यको रूपमा स्थापित हुँदै आएको छ।