न्यु डायमन्ड कप महिला भलिबल पुस २३ बाट

न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा तेश्रो न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस २३ गते देखि हुने भएको छ।

प्रतियोगितामा ६ देखि ८ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबकी अध्यक्ष सुनकेशरी मालीले जानकारी गराइन् । प्रतियोगितालाई यसपटक पनि होङगान्जी बौद्ध समाजले मुख्य प्रायोजन गर्ने भएको छ । गत वर्ष पनि होङगान्जी नै प्रतियोगिताको मुख्य प्रायोजक थियो । गत वर्ष ५ लाख प्रायोजन गरेको होङगान्जीले तेश्रो संस्करणमा भने १० लाख बढाएर १५ लाख प्रायोजन गर्ने भएको छ ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैयाँ, दोश्रोले ३ लाख १ सय १ रुपैयाँ, तेश्रोले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथोले ५१ हजार १ सय १ रुपैयाँ नगद पुरस्कार पाउने छन् । गत वर्षको तुलनामा नगद पुरस्कारमा पहिलो र दोश्रोमा १ लाख तथा तेश्रोमा ५० हजार रुपैयाँले बृद्धि गरिएको प्रतियोगिता संयोजक कुमार राईले जानकारी दिए । चौथो हुनेले गत वर्ष ५० हजार नगद पाएको थियो ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार १ सय १ रुपैयाँ प्रदान गरिने छ । व्यक्तिगत विधाको उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई जनही ७ हजार १ सय १ रुपैयाँ नगदबाट पुरस्कृत गरिने छ। आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २६ लाख रुपैयाँ खर्च हुने छ । चारदिने प्रतियोगिताका खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा हुनेछ।

पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले खेलाडी उत्पादनमा न्यु डायमन्डको उल्लेखनिय योगदान रहेको बताउदै प्रतियोगिता आयोजना गरेर भलिबलको विकासमा पनि टेवा पु¥याइरहेको धारणा व्यक्त गरे ।
होङगान्जीका उपाध्यक्ष कुमार श्रेष्ठले न्यु डायमन्डको भलिबल प्रतिको लगाव देखेरै प्रतियोगितालाई सहयोग गरेको बताउदै आगामी दिनमा पनि सहकार्यले निरन्तरता पाउने प्रतिबद्धता जनाए।

प्रतियोगिता संयोजक राईले विगतका संस्करण आयोजनामा केहि कठिनाइ भएपनि सबैको सहयोगले बल्ल आएर ढुक्कले प्रतियोगिता आयोजना गर्ने वातारण निर्माण भइरहेको बताए ।

२०७६ पुष १३, आईतवार मा प्रकाशित