आईपीएलमा आफुलाई ‘कालू’ भनेर बोलाएको सम्झदै ड्यारेन स्यामीले लगाए रंगभेदको आरोप

अमेरिकामा एक अश्वेत पुरुष जर्ज फ्लोइडको मृत्यु भएपछि विश्वभर जातीय विभेद बिरुद्ध प्रदर्शन भइरहेको छ। यही माहोलमा अन्य जस्तै क्रिकेट क्षेत्र पनि अघि आउन थालेको छ। विश्वभर अहिले ‘Black Lives Matter’ अभियाननै चलेको छ। चर्चित क्रिकेटर क्रिस गेलले क्रिकेटमा पनि जातीय भेदभाव हुने भन्दै आवाज उठाएका थिए। त्यसको केहि दिन नबित्दै अर्का वेस्ट इन्डिज क्रिकेटर तथा पुर्व कप्तान ड्यारेन स्यामीले पनि यस बारे बोलेका छन्।

वेस्टइन्डिजलाई आफ्नो कप्तानीमा २०१२ र २०१६ मा गरि दुइ पटक टि-२० विश्वकपको उपाधि दिलाएका स्यामीले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा रंगभेदी व्यवहारको सामना गर्नुपरेको बताएका हुन्।

स्यामीका अनुसार आईपिएलको दौरान आफु र श्रीलंकन क्रिकेटर थिसारा परेरालाई ‘कालू’ भनेर बोलाइने गरिन्थ्यो। त्यति बेला उनलाई त्यसको मतलब थाहा थिएन। यसको अर्थ अहिले थाहा पाएपछि उनले रिस देखाएका हुन्।

आफ्नो इन्स्टाग्राम स्टोरीमा उनले लेखेका छन् “मलाई अहिले बल्ल ‘कालू’ को अर्थ थाहा भयो। म आईपीएलमा सनराइजर्सको लागि खेल्दा मलाई र थिसारालाई यही नामले बोलाइने गरिन्थ्यो। म सोच्थे कि त्यसको मतलब बलियो घोडा हो। म रिसाएको छु।”

स्यामीले यस अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले रंगभेदको मामलामा कडा कदम चाल्नुपर्ने माग राखेका थिए। यस्तै क्रिस गेलले पनि यो कुरामा समर्थन गर्दै फुटबलमा मात्र हैन क्रिकेटमा पनि रंगभेदी टिप्पणी हुने गरेको र आफु पनि त्यसको शिकार भएको बताएका थिए।

२०७७ जेष्ठ २५, आईतवार मा प्रकाशित