मलेसियाको क्लब अमन मैदानमा एसीसी ट्रफीको समुह चरणको आफ्नो चौथो खेलमा नेपाल खेल्दै थियो म्यानमारसंग। मिति थियो २० अगस्ट २००६। नेपाल प्रतियोगिताको अघिल्लो ३ खेलमा हंगकंग, भुटान र कुवेतलाई सजिलै हराऊदै एसीसी ट्रफी जित्ने अभियानमा थियो। क्रिकेट इतिहासमै पहिलो पटक भिड्दै थिए नेपाल र म्यानमार।
नेपालले टस जित्यो र कप्तान बिनोद दासले पहिले बलिंग गर्ने निर्णय गरे। ओपनिंग बलिंगमा आए मेहबुब आलम। पहिलो बलमै विकेट !
आलमबाट त्यो अस्वभाविक पक्कै थिएन। म्यानमार ओपनर ओमर खाता नखोली आलमको एलबिडब्लु धरापमा परे। म्यानमारको स्कोर ०/१।
चौथो बलसम्म खाता खोल्न नसकेको म्यानमारलाई आलमले पुनः झट्का दिए। यसपालि आलमले म्यानमार ब्याट्सम्यान मोहम्मदको स्टम्प उडाईदिए। स्कोर पुग्यो ०/२

आलम कहाँ रोकिन्थे र ? आफ्नो दोश्रो ओभरको पहिलो र पाँचौ बलमा विकेट लिंदै स्कोर र रन बराबर बनाईदिए। अब्दुल रहमानको स्टम्प ढालेका आलमले शरजिललाई राजु बस्नेतको हातमा क्याच थमाए। ४ रनमै ४ वटै विकेट गुमाएको म्यानमार गम्भीर संकटमा पुग्यो।
आलम अझै थामिएनन्, सातौँ ओभरको दोश्रो र पाँचौ बलमा छैठौं र सातौँ नम्बरका ब्याट्सम्यानलाई पनि पाखा लगाईदिए। स्कोर पुग्यो ७ रन ६ विकेटको नोक्सानी।
कप्तान बिनोद दास पनि कम कहाँ थिए र ? दासले पनि २० बल खेल्दै १ रन बनाएर अवरोध बनिरहेका ओपनर जर्कारीयालाई अन्य ६ ब्याट्सम्यान फर्केकै बाटो देखाईदिए। स्कोर पुग्यो ७.५ ओभर ८ रन ७ विकेटको क्षेतीमा।

नेपाल इतिहासको नजिक थियो। ८ रन बन्दा ७ जना ब्याट्सम्यान गुमाएको म्यानमारलाई बिनोद दासले दया गरेनन्। ८ बलमा १ रन बनाई इज्जत ढाक्ने प्रयासमा रहेका जिन मिन पनि उखालिएको स्टम्प हेर्दै पेभेलियनकै बाटो लागे। ९ रनमै गुम्यो म्यानमारको ८ विकेट १० ओभरको समाप्ति।
बाँकी थियो २ विकेट र झरेका सबै ८ विकेट थियो आलम र दासको नाम। नवौं विकेटको रुपमा बिनोद दासले युसुफलाई १२ औ ओभरको दोश्रो बलमा आकाश गुप्तालाई क्याच थमाए। बाँकी थियो १ विकेट, आलमले ए मिन थानको बल छुने प्रयास असफल बनाईदिए। बोल्ड !
म्यानमार १० रनमै अल आउट।
१० विकेट १२.१ ओभरमा गुमाएको म्यानमारका ५ जना ब्याट्सम्यानले १ रन जोड्दा अन्य ५ जना खाता नखोली आउट भए। बिनोद दासले २ वटा वाइड र लेग बाईको रुपमा ३ रन पाउदा दोहोरो अंक छुने सौभाग्य म्यानमारले पायो। आलमले ६.१ ओभरमा ३ मेडन ओभर सहित ३ रन खर्ची ७ विकेट तथा दासले ६ ओभरमा २ मेडन ओभर सहित ४ रन खर्ची ३ विकेट आफ्नो पक्षमा पारे।
अब ब्याटिंग गर्ने पालो नेपालको। लक्ष ११ रन।
ब्याटिंग गर्न आईपुगे महेश क्षेत्री र धिरेन्द्र चन्द। ओपनिंग बलिंग गर्न आएका म्यानमार बलर ए मिन थनले नेपाली ब्याट्सम्यानलाई धेरै दुख दिएनन्। ३ वटा वाइड फालेका मिनको बलमै नेपालले २ रन समेत लियो। महेश क्षेत्री र धिरेन्द्र चन्दले खेलेको २ बलमा ३/३ रन बटुले पछि नेपालले २ बलमै खेल जित्यो।

खेलको म्यान अफ द म्याच ७ विकट लिएका मेहबूब आलम घोषित भए। प्रतियोगितामा लज्जास्पद प्रदर्शन गरेको म्यानमारको त्यो नै पहिलो र अन्तिम एसीसी ट्रफी प्रतियोगिता बन्न पुग्यो।
प्रतियोगितामा नेपालले भने सेमीफाइनलमा युएईसंग ९ विकेटले पराजित हुन पुग्यो। फाइनलमा युएईले हंगकंगलाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको थियो। तेश्रो स्थानको लागि भएको प्लेअफमा पनि नेपालले ६४ रनको हार बेहोर्न पुगेको थियो।

