क्यान प्रदेश-२ ले अनलाईन मार्फत बिभिन्न क्रिकेट गतिविधि गर्ने

कोरोना महामारीको कारण विश्वभर क्रिकेट गतिविधिहरु ठप्प जस्तै रहेको बेला नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन। नेपालमा क्रिकेट गतिविधिहरु सुन्य जस्तै रहेको छ। यसै बीच नेपाल क्रिकेट संघको प्रदेश नम्बर-२ ले लकडाउनमा खेलाडी तथा क्रिकेट सम्बन्धित अफिसियलहरुलाई समेत सक्रिय बनाउने उद्देश्यले अनलाईन कार्यक्रमहरु गर्ने भएको छ। संघको अनलाईन बैठकले अनलाईनमा मार्फत बिभिन्न कार्यहरु गर्ने निर्णय गरेको हो।

संघको शुक्रवार सम्पन्न अनलाईन बैठकमा प्रदेश २ ले प्रदेश अन्तर्गत रहेका ८ वटै जिल्ला क्रिकेट संघलाई निर्देशन जारी गर्दै एकिकृत रुपमा खेलाडिको दर्ता अनलाईन मार्फत गर्ने निर्णय गरेको छ। जस अन्तर्गत खेलाडिको फर्म सामाजिक संजाल मार्फत तथा सामाजिक संजाल पहुँच नभएका लागि जिल्ला संघ मार्फत फर्म उपलब्ध गराई दर्ता प्रकृया अगाडि बढाउने निर्णय गरेको प्रदेश २ क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी गराए।

प्रदेश-२ क्रिकेट संघको अनलाईन बैठक

प्रदेश नं. २ क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षता तथा नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहको बिशेष उपस्थितीमा सम्पन्न बैठकमा खेलाडिहरुको हितलाई ध्यानमा राखि खेलाडिको आवश्यक्तामा आधारित रही यस बिषम परिस्थितिमा कृयाकलाप गर्न प्रदेश नं. २ का नियमित खेलाडिहरुसंग जेष्ठ २५ गते सोमवार अन्तकृया कार्यक्रम समेत गर्ने निर्णय संघले गरेको जानकारी श्रेष्ठले गराए ।

संघले प्रदेश भित्र अनलाईन अम्पाएर तथा स्कोरिंग तालिमसंगै खेलाडीहरुको फिटनेश तालिम समेत संचालन गर्ने निर्णय गरेको छ तर यसको आधिकारिक मिति जेष्ठ ३२ गते पछि नेपाल सरकारले तोकेको मोडालिटीलाई ध्यानमा राखेर गरिने श्रेष्ठले बताए ।

२०७७ जेष्ठ २७, मंगलवार मा प्रकाशित