यो वर्ष इन्डियन प्रिमियर लिग ( आईपीएल ) आयोजना गर्नको लागि भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले हर सम्भव प्रयास गर्ने भएको छ।
बिसीसीआईका अध्यक्ष सौरभ गांगुलीले क्रिकेट बोर्डको सदस्यहरुलाई पत्र पठाउदै बोर्ड आईपीएल आयोजना गर्ने हरेक सम्भावनामा काम गरिरहेको बताएका हुन्। खालि स्टेडियममा गर्न पनि बोर्ड तयार रहेको उनले स्पस्ट पारेका छन्।
“हामि हरेक सम्भव प्रयास बारे छलफल गरिरहेका छौँ ताकी यो वर्ष आईपीएल होस्। खालि स्टेडियममा पनि प्रतियोगिता गर्न तयार छौँ।”
२९ मार्च देखि सुरु हुनुपर्ने आईपीएल कोरोना महामारीले गर्दा अनिश्चितकालको लागि स्थगित भएको थियो। प्रतियोगिता अक्टोबर-नोभेम्बरमा हुने सम्भावना रहेको छ जसको लागि आईसीसी टि-२० विश्वकप पुर्व निर्धारित तालिकाबाट सर्नुपर्नेछ। आईसीसीले यस बारे आगामी महिना निर्णय दिने बताएको छ।
यस्तै गांगुलीले कोरोना भाइरस पछि खेल गतिविधिहरु २ महिनामा सुरु हुने विश्वास व्यक्त गरेका छन्।
“हामिलाई अघि बढ्नु छ। बिसीसीआई आगामी क्रिकेट सिजनमा प्रतिस्पर्धात्मक क्रिकेट सुरु गर्ने सोचीरहेको छ। हामि बिभिन्न फर्म्याट र बिकल्प बारे बहस गरिरहेका छौँ ताकी बिभिन्न घरेलु प्रतियोगिता हुन सकोस्।” गांगुलीले बताए।
