अधुरै रह्यो सफल क्रिकेटर बनेपछि सुशान्तलाई भेट्ने मुम्बई इन्डीएन्सका क्रिकेटरको वाचा

स्वर्गीय बलिउड कलाकार सुशान्त सिंह राजपुतको क्रिकेटसंगको सम्बन्ध निकै घनिष्ट रहेको थियो। उनको २०१३ को डेब्यु फिल्म काइ पो चे मा, सुशान्तले क्रिकेट प्रशिक्षकको भूमिका निभाएका थिए। उक्त फिल्मको केहि वर्ष पछि पुनः उनले पुर्व भारतीय कप्तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ मा धोनीको भूमिका निभाएका थिए।

रोचक त के छ भने ‘काइ पो चे’ फिल्ममा सुशान्तको चेला ‘अलि’ को भूमिका निभाएका दिग्विजय देशमुखलाई गत वर्ष आईपीएल अक्सनमा मुम्बई इन्डीएन्सले टिममा लियो। २०२० सिजनको लागि मुम्बईमा छनौट भएका युवा क्रिकेटर देशमुख आईपीएलमा छनौट भएता पनि उनले स्वर्गीय कलाकार सुशान्त सिंह राजपुतलाई गरेको एउटा वाचा भने पुरा हुन पाएन। फिल्म जस्तै बाहिरि जिन्दगीमा पनि देशमुख सफल क्रिकेटर भएको सुशान्त देख्न चाहन्थे।

“वहाँको क्रिकेटमा निकै लगाव थियो। शुटिंगको अन्तिम दिनमा मैले वहाँसंग एउटा वाचा गरेको थिए कि जबसम्म राम्रो क्रिकेटर बन्नेछैन तपाईसंग भेट्दिन।”

काइ पो चे फिल्मको एक दृश्यमा देशमुख र सुशान्त

“यो वर्ष म मुम्बई इन्डीएन्सको लागि खेल्न छनौट भए जसपछि वहाँसंग भेट्ने इच्छा थियो जुन लकडाउनको कारण पुरा हुन पाएन। अव वहाँ यो संसारमा हुनुहुन्न। मेरो वाचा पुरा हुन सकेन। अहिले लाग्छ लकडाउन नभएको भए हुन्थ्यो र वहाँसंग गरेको वाचा पुरा हुन्थ्यो, जुन अधुरै रह्यो” हिन्दुस्तान टाइम्ससंगको कुराकानीमा देशमुखले बताएका छन्।

‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ को शुटिङको दौरान सुशान्त पुने पुगेका थिए जुन बेला देशमुखले मौका हुँदा हुँदै सुशान्तलाई भेटेका थिएनन्।

“त्यो बेला पनि मैले वहाँसंग भेटिन किनकि म त्यो वाचा कायमै राख्न चाहन्थे। मलाई अहिले पछुतो छ।”

सुशान्तसंग काइ पो चेमा शुटिंग गर्दाको पलहरु भए देशमुख अहिले पनि सम्झिने गर्छन्। उनको अनुसार सुशान्त निकै सहयोगी थिए र सधै आफुहरु शुटिंग अघि अघिल्लो सिनको संगै रिहर्सल गर्ने गर्थे। त्यसैले सेटमा जाँदा उनि सधै तयार रहने गर्थे”

“म फिल्म शुटिंग गर्दा १५ वर्षको थिए। ६ महिना लामो समय वहाँसंग शुटिंग गरे। शुटिंग सकिएपछि मलाई आफ्नो कोठामा बोलाउनु हुन्थ्यो जहाँ मलाई अघिल्लो दृश्य, क्यामरा एंगलबारे सिकाउनु हुन्थ्यो।”

“वहाँ साथी जस्तै हुनुहुन्थ्यो र खुसि देखिनुहुन्थ्यो अनि त्यतिनै काममा लगाव पनि। त्यति ठुलो नाम भएर पनि मलाई मेरो क्रिकेटको बारेमा सोध्नुहुन्थो।” देशमुखले सम्झिए।

आफुसंग त्यति राम्रो सम्बन्ध तथा त्यति राम्रो व्यक्तित्वका धनि राजपुतले आत्महत्या गरेर आफ्नो जीवन समाप्त गर्ने त्यति ठुलो कदम उठाउलान भन्ने आफुले कहिले नसोचेको उनले बताए।

“वहाँले आफ्नो अन्तिम फिल्म ‘छिछोरे’मा आत्महत्या समस्याको समाधान हैन भन्नुभएको थियो, वहाँलेनै फेरी त्यस्तो कसरि गर्न सक्नुहुन्छ ? वहाँ सधै उर्जावान् र जीवन्त हुनुहुन्थ्यो, मलाई थाहा छैन के कुराले वहाँलाई त्यस्तो गर्न बाध्य बनायो। मैले कतै सुनेको थिए कि केहि वर्ष देखि वहाँ डिप्रेसनमा हुनुहुन्थ्यो, त्यो किन मैले बुझिन” देशमुखले बताए।

मुम्बई इन्डीएन्सले सोसल मिडियामा बिहिबार पोस्ट गर्दै लेखेको छ – “जहिले काइ पो चे को ‘अलि’ मैदान प्रवेश गर्नेछन्, उनको गुरु ‘इशान’ स्वर्गबाट मुस्कुराउने छन्।”

पुनेका २२ वर्षीय तिब्र गति बलर देशमुखलाई मुम्बईले बेसप्राइस २० लाख भारतीय रुपैयाँमा टिममा लिएको थियो। गत वर्ष रन्जी ट्रफीमा तथा सयद मुस्ताक अलि ट्रफीमा टि-२० डेब्यु गरेका देशमुखले आईपीएलमा डेब्यु गर्न भने प्रतीक्षा गर्नुपरेको छ। कोभीड-१९ का कारण आईपीएल अनिश्चितकालको लागि सरेको छ।

( हिन्दुस्तान टाईम्सको सहयोगमा)

२०७७ असार ५, शुक्रबार मा प्रकाशित