यो वर्ष एसिया कप प्रतियोगिता तोकिएको समयमानै आयोजना हुने तर आयोजना स्थल भने श्रीलंका अथवा युएई हुने पाकिस्तान क्रिकेट बोर्डका सीईओ वासिम खानले बताएका छन्।
आईपीएलसंग जुध्न सक्ने हुँदा प्रतियोगिता रद्द गर्दै आईपीएललाई समय दिने हुनसक्ने हल्लालाई गलत बताएका छन्। टि-२० विश्वकप समयमा आयोजना नहुने सम्भावना प्रवल हुँदा आईपीएलले त्यसको ठाउँ पूर्ति गर्ने खबर बाहिर आएको थियो।
“एसिया कप समयमै आयोजना हुनेछ। पाकिस्तान क्रिकेट टिम इंग्ल्याण्डबाट २ सेप्टेम्बरमा फर्किनेछ। त्यसपछि प्रतियोगिता सेप्टेम्बर या अक्टोबरमा आयोजना गरिनेछ।” एक मिडिया कन्फरेन्समा खानले स्पस्ट पारे।
“हामि एसिया कप श्रीलंकामा आयोजना होस् भन्ने चाहन्छौ जहाँ कोरोना भाइरसको केसहरु अत्याधिक छैन। यदी उनीहरु आयोजनाको लागि तयार नभए युएई पनि तयार रहेको छ।” उनले थपे।
पाकिस्तान प्रतियोगिताको आधिकारिक आयोजक भएकोले अहिले श्रीलंकालाई आयोजना अधिकार दिने र पछि श्रीलंकाले अधिकार पाउदा उसले पाकिस्तानलाई प्रतियोगिता आयोजना गर्न दिने खानले बताए।

सीईओ खानले टि-२० विश्वकप अक्टोबर-नोभेम्बरमा आयोजना नभएको अवास्स्थामा पाकिस्तान बोर्डले खालि समयमा अन्य सिरिज खेल्ने जोहो गरिरहेको पनि बताए।
“डिसेम्बरमा न्युजिल्यान्ड भ्रमणमा जानु अघि हामिले घरमा जिम्बाब्वेसंग सिरिज खेल्ने छौँ। साउथ अफ्रीका जनवरी/फेब्रुअरीमा २/३ वटा टेस्ट र केहि टि-२० को सिरिज खेल्न तयार रहेको छ” उनले खुलासा गरे।
यस्तै पाकिस्तान बोर्डले बाँकी रहेको पाकिस्तान सुपर लिगको ५ वटा खेल पनि नोभेम्बरमा आयोजना गर्ने बारे सोचीरहेको बताएको छ।
भारत र पाकिस्तान बीच मैत्रीपूर्ण सिरिज खेल्ने सम्भावना बारे बोल्दै खानले त्यस्तो कुनै सम्भावना निकटमा नरहेको बताए – “दुखद भन्नु पर्छ हामिले भारतसंग खेल्ने बारे बिर्सीनु पर्ने भैसकेको छ। हामी र बिसीसीआईको लागि दुखद पक्ष के हो भने बिसीसीआईले पनि सिरिजको लागि सरकारको अनुमति लिनुपर्छ। दुइ देश बीच सिरिज हुनु अहिले सम्भावना बाहिरको कुरा हो।” उनले बताए।
कोरोना महामारीको कारण पाकिस्तान बोर्डले आफ्नो खर्च कटौती गर्दै आफ्नो वार्षिक बजेटमा पुनर्विचार गर्ने पनि खानले बताए। बोर्डको वार्षिक खर्चमा रु. १ अरब कटौती गर्ने बताईएको छ।
यो पटक एसिया कप टि-२० फर्म्याटमा आयोजना हुनेछ।
सन् २००८ को एसिया कप आयोजना गरेपछि पाकिस्तानले निकै कम अन्तर्राष्ट्रिय प्रतियोगिता मात्र आयोजना गरेको छ। २००९ मा श्रीलंकन राष्ट्रिय क्रिकेट माथि आतंककारी हमला पछि भारतले तथा अन्य टिमले समेत लामो समय पाकिस्तानमा खेल्न मानिरहेका छैनन्।

एसिया कपमा एसियाली टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र छनौट प्रतियोगिताबाट आउने १ राष्ट्र गरि ६ टिम सहभागी हुनेछन्। अगस्टमा मलेसियामा आयोजना हुने एसिया कप छनौटमा हंगकंग, कुवेत, सिंगापुर र युएई सहभागी हुँदैछ।
नेपाल भने लगातार दोश्रो पटक एसिया कप रेसबाट बाहिर भैसकेको छ। थाइल्याण्डमा फेब्रुअरीमा सम्पन्न एसिया कप पूर्वी छनौटमा नेपाल चौथो भएको थियो। सिंगापुर र हंगकंग पूर्वी क्षेत्रबाट छनौट भएका थिए। नेपालले ४ खेल मध्ये १ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो। मलेसिया र हंगकंगसंग पराजित भएको नेपालले थाइल्याण्ड पराजित गरेको थियो भने सिंगापुरसंगको खेल वर्षाले रोकिएको थियो।
