इंग्लिस प्रिमियर लिगको ३५ औं चरणको खेल अन्तर्गत वल्भ्सले एभर्टन माथी सहज जित हात पारेको छ।
घरेलु मैदानमा भर्खरै समाप्त खेलमा वल्भ्सले एभर्टन माथी ३-० को जित हासील गरेको हो। वल्भ्सको जितमा जिमेनेज, डेन्डोन्क्कर र जोटाले समान एक-एक गोल प्रहार गरे ।
जिमेनेजले पहिलो हाफको थप समयमा पेनाल्टी मार्फत गोल गर्दै वल्भ्सलाई खेलमा अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै डेन्डोन्क्करले गोल गर्दै घरेलु टोलिको अग्रतालाई २ बनाए । नेटोले क्रस गरेको बललाई डेन्डोन्क्करले हेड मार्फत गोल गरे।
खेलमा आक्रामक देखिएको वल्भ्सले ७४ मिनेटमा आफ्नो अग्रतालाई तेब्बर बनायो । नेवेसले दिएको बललाई जोटाले बक्सबाट बायाँ खुट्टाले गरेको प्रहार गोलमा परिणत भयो ।
आजको गोलसँगै जिमेनेज जारि सिजनमा व्यक्तिगत १६ गोल गर्दै टप स्कोररको सुचीमा छैटौं स्थानमा रहेका छन्।
जितसँगै वल्भ्स छैटौं स्थानमा उक्लिएको छ । वल्भ्सले ३५ खेलमा ५५ अंक बनाएको छ । ३५ खेलमा ४५ अंक बटुलेको एभर्टन भने यथावत स्थानमा रहेको छ । वल्भ्सले आफ्नो अर्को खेलमा बर्नलीको सामना गर्ने छ । एभर्टनले भने एस्टन भिल्लाको सामना गर्नेछ।
