टोटेनहम विरुद्ध आर्सनलको निराशाजनक हार

इग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा टोटेनहमले आर्सनल माथी २-१ को शानदार जित हात पारेको छ । टोटेनहमको जितमा दक्षिण कोरियाली खेलाडी ह्युङ मिन सन निर्णायक सावित भए ।

टोटेनहमको घरेलु मैदानमा भएको खेलमा ह्युङ मिन सनले एक गोल गर्नुका साथै एक असिस्ट पनि गरे । घरेलु टोलि टोटेनहम १ गोलले पछि परेको अवस्थाबाट अप्रत्याशित पुनरागमन गर्दै  जित हासिल गरेको हो ।

पाहुना टोलि आर्सनलले एलेसान्द्रे लाकजेट्टिको गोलबाट १६ औं मिनेटको खेलमा शुरूवाती अग्रता लिएको थियो । तर, आर्सनलको अग्रता ३ मिनेट मात्र टिक्यो  । १९ औं मिनेटको खेलमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याएका थिए । खेल समाप्त हुन ९ मिनेट बाँकी रहदा ह्युङ मिन सनले गरेको क्रसको सहायतामा टोवि एल्डरवेइरेल्डले बक्सको बीचबाट हेड मार्फत शानदार गोल गर्दै घरेलु टोलिलाई जित दिलाएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा आर्सनलले थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न भने असफल रह्यो ।

जितसँगै टोटेनहमको युरोपियन छ्नोटको आशा कायम रहेको छ । टोटेनहम ३५ खेलमा ५२ अंक बनाउदै आठौं स्थानमा उक्लिएको छ । टोटेनहमले पाचौं स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडसँगको अंक दुरि ६ अंकमा झारेको छ ।

आर्सनल भने ३५ खेलमा ५० अंक बटुल्दै ९ स्थानमा झरेको छ । आर्सनलको आठौं स्थानमा रहेको टोटेनहमको भन्दा २ अंक कम रहेको छ । दसौं स्थानको बर्नलिसँग पनि ५० अंक रहेको छ ।

आर्सनलले आगामी खेलमा लिग विजेता लिभरपुलको सामना गर्ने छ । टोटेनहम भने निउक्यासल युनाइटेड सँग प्रतिस्पर्धा गर्ने छ ।

२०७७ असार २९, सोमबार मा प्रकाशित