म्यान्चेस्टर युनाइटेड साउथह्याम्पटनसँग बराबरीमा रोकियो

इंग्लिस प्रिमियर लिग अन्तर्गत ३५ औं चरणको खेलमा युनाइटेड साउथह्याम्पटनसँग २-२ को बराबरीमा रोकिएको छ ।

साउथह्याम्पटनका लागि खेलको अन्तिम समयमा ओवाफेमीले बराबरी गोल गर्दा युनाइटेडले तेस्रो स्थानमा उक्लिने सुनौलो अवसर गुमाएको हो ।

सोमबार राती ओल्डट्राफोर्डमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा युनाइटेडले साउथह्याम्पटनसँग महत्त्वपूर्ण अंक गुमाएको छ । खेलको १२ औं मिनेटमा आम्सट्रोङले गोल गर्दै साउथह्याम्पनलाई खेलमा शुरूवाती अग्रता दिलाएका थिए ।

साउथह्याम्पनको अग्रता धेरै बेर टिक्न सकेन । २० औं मिनेटमा मार्सियलको पासमा रासफोर्डले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

राम्रो लयमा रहेको युनाइटेडले खेलमा बराबरी गरेको ३ मिनेट नबित्दै सरुवातमा पछि परेको अवस्थालाई उल्टाएर खेलमा अग्रता लिगेको थियो । ब्रुनोको पासलाई मार्सियलले २३ औं मिनेटको खेलमा गोल गर्दै युनाइटेडलाई खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफ २-१ मा समाप्त भएको थियो ।

रोमाञ्चक बनेको खेलमा युनाइटेड ९० औं मिनेटको खेल सम्म अगाडि थियो । तर, थप समयमा पाहुना टोलिका लागि ओवाफेमीले गोल गर्दै युनाइटेडबाट अंक खोस्न सफल भएका थिए ।

३५ खेलमा ५९ अंक बनाएको युनाइटेड पाचौं स्थानमा यथावत रहेको छ । युनाइटेड तेस्रो स्थानको चेल्सी भन्दा १ अंक पछाडि रहेको छ । त्यस्तै चौथो स्थानको लेस्टरसँग भने समान अंक छ ।

लिग समाप्त हुन ३ खेल मात्र बाँकी रहेको अवस्थामा शिर्ष ४ मा पर्न लेस्टर, चेल्सी र युनाइटेड बिचको प्रतिस्पर्धा रोमाञ्चक बनेको छ ।

युनाइटेडले आगामी खेलमा प्यालेसको सामना गर्नेछ । साउथह्याम्पटनले भने ब्राइटोनसँग प्रतिस्पर्धा गर्नेछ ।

२०७७ असार ३०, मंगलवार मा प्रकाशित