डेविड लुइज कुनै समयमा विश्वकै उत्कृष्ट डिफेन्डरमा गनिएका खेलाडी हुन् । २०१४ को विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरिसकेका ३३ वर्षिय लुइजले आफ्नो शानदार करियरमा थुप्रै उतारचढाव भोगेका छन् जसमा समर्थकहरुले उनको हरेक हार/जितमा आँसु छल्किएको देखेका छन् ।
लुइजलाई सम्झना साथ उनले २०१४ को विश्वकपको क्वाटरफाइनल खेलमा कोलम्बियाविरुद्ध ३५ यार्ड टाढा बाट फ्रिकिक मार्फत गरेको गोल आँखामा प्रतिबिम्बित हुन्छ। उक्त गोलले ब्राजिललाई सेमिफाइनल पुर्याएको थियो । उक्त गोल गरे पछि लुइजको खुशी हेर्न लायक थियो ।
विश्वकप र ब्राजिलको विशेष सम्बन्ध रहेको कुरा सबैलाई थाहा नै छ । त्यसमाथी २०१४ मा आफ्नै देशमा विश्वकप आयोजना भएको कारण ब्राजिलका समर्थकलाई सुनमा सुगन्ध थपिएको थियो भने अपेक्षा पनि सोहि अनुरुप थियो ।

सेमिफाइनलमा ब्राजिलको खेल जर्मनीसँग थियो । कप्तान सिल्भा र प्रमुख खेलाडी नेयमार घाइते भएका कारण खेल गुमाएका थिए। लुइजलाई कप्तान बनाइएको थियो। आफ्नो काँधमा लाखौं समर्थकको सपना बोकेर उनी मैदानमा उत्रिए।
उक्त खेलमा ब्राजिलले आश्चर्यचकित, अप्रत्याशित र असम्भव जस्तो नतिजा बेहोर्न पुग्यो। ब्राजिलले घरेलु मैदानमा जर्मनीको हातबाट १-७ अन्तरको लज्जास्पद हार बेहोर्न पुग्यो ।

खेल पछि लुइजले आफ्नो आँसु थाम्न सकेनन् ।
केही दिन अघि म्यान्चेस्टर सिटिविरुद्धको खेल पछि लुइजको आलोचनाहरु उर्लेर आए जुन आलोचनाहरु सिटिविरुद्धको खेल पछि नै पखालिए ।
लकडाउनले ठप्प भएको इंग्लिस प्रिमियर लिग फेरि सुचारु भएको सरुवाती दिनमा लुइज रहेको आर्सनल र म्यान्चेस्टर सिटिको खेल थियो । परिवर्तन भएर मैदानमा उत्रिएका लुइजको गल्ती कै कारण सिटिले खेलमा सरुवाती अग्रता हासिल गरेको थियो। सिटिलाई पेनाल्टी उपहार दिदै लुइज रातो कार्ड खाएर मैदान बाहिरिए । थुप्रै फुटबल विश्लेषक र समर्थकहरुले लुइजलाई हाँसोको पात्र बनाए।
एफए कपको सेमिफाइनल अन्तर्गत गए आइतबार राती म्यान्चेस्टर सिटि र आर्सनल बीच प्रतिस्पर्धा भएको थियो । आर्सनलले सिटिलाई स्तब्ध बनायो। थुप्रै गोल गर्ने अवसर सिर्जना गरेको सिटिले एक गोल पनि गर्न सकेन। किनकि आर्सनलको डिफेन्स लाइनमा तैनाथ थिए डेविड लुइज। उनले सिटिको थुप्रै आक्रमणलाई विफल बनाए। आर्सनलको जितको जस लुइजले पाए। उनि फेरि फुटबल समर्थकको मनमा आफ्नो हराएको ठाउँ ओगट्न सफल भए ।
उनले आफ्नो करिअरमा चेल्सी तथा पेरिस सेन्ट जर्मेन क्लबको पनि प्रतिनिधित्व गरिसकेका छन् ।
“यो फुटबलको एक पाटो हो । मेरो गल्ती पछि म हरेक सेकेन्ड मिहेनत गरिरहेको थिए। “, लुइजले खेल पछि भने।

