इंग्लिस प्रिमियर लिग : यसरी चेल्सी, युनाइटेड र लेस्टर शिर्ष-४ मा पर्न सक्छन्

इंग्लिस प्रिमियर लिग अन्तिम चरणमा आइपुग्दा पनि अझै शिर्ष ४ टोलिको छिनोफानो हुन सकेको छैन। ३० वर्ष पछि च्याम्पियन बनेको लिभरपुल र दोस्रो स्थान पक्का गरेको म्यान्चेस्टर सिटिले शिर्ष-४ मा स्थान पक्का गर्दै अर्को वर्ष च्याम्पियनस लिग खेल्न छनोट भैसकेका छन् ।तेस्रो र चौथो स्थानको लागि चेल्सी, म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटिको रोमाञ्चक दौड चलिरहेको छ ।

हाल तेस्रो स्थानमा रहेको चेल्सीको ३६ खेलमा ६३ अंक रहेको छ। एक खेल धेरै खेलेको लेस्टर भने ३७ खेलमा ६२ अंक सहित चौथो स्थानमा छ । ३६ खेल खेलेको युनाइटेडको पनि समान अंक छ भने गोलकोअन्तरले पछि पर्दै लेस्टर चौथो स्थानमा छ ।

कसरी चेल्सी शिर्ष-४ मा रहन सक्छ ?

युनाइटेड र लेस्टर भन्दा एक अंकको अग्रता कायम राखेको चेल्सीले बाँकी २ खेलमा ३ अंक हात पारे शिर्ष ४ मा रहने पक्का छ । बिहीबार लिभरपुलसँगको खेलमा जित हासिल गर्न सके चेल्सी अर्को वर्ष हुने च्याम्पियनस लिगको लागि छनोट हुनेछ।

त्यसको लागि पछिल्लो ५८ खेलमा आफ्नो घरेलु मैदानमा अपराजित च्याम्पियन लिभरपुललाई चेल्सीले पराजित गर्नुपर्नेछ। चेल्सी लिभरपुलसँग हारेको खण्डमा शिर्ष ४ मा आफ्नो ठाउँमा पक्का गर्न वोल्भ्सलाई हराउनु पर्ने हुन्छ ।

चेल्सीले दुबै खेलमा हार बेहोरेको खण्डमा पनि उसले शिर्ष ४ को यात्रा तय गर्ने सम्भावना बाँकी रहन्छ । तर, यसको लागि लिग चरणको अन्तिम खेलमा युनाइटेडले लेस्टरलाई हराउनु पर्नेछ ।

लेस्टर सिटि कसरी शिर्ष-४ मा रहन सक्छ ?

लेस्टर सिटिलाई शिर्ष ४ मा रहनको लागि लिगको आफ्नो अन्तिम खेलमा म्यान्चेस्टर युनाइटेडलाई हराउनु बाहेक अन्य कुनै विकल्प छैन।म्यान्चेस्टर युनाइटेड वेस्ट ह्याम युनाइटेडविरुद्ध पराजित भएको खण्डमा, लेस्टरले युनाइटेडलाई बराबरीमा रोकेर पनि शिर्ष ४ मा रहन सक्छ ।

म्यान्चेस्टर युनाइटेड कसरी शिर्ष ४ मा पर्न सक्छ ?

युनाइटेडको लिगमा २ खेल बाँकी रहेको छ। बिहीवार हुने खेलमा युनाइटेडले वेस्ट ह्यामसँग अंक खोस्न सफल भएको खण्डमा ओलेको युनाइटेडले लेस्टरलाई बराबरीमा रोक्न सके युनाइटेड शिर्ष ४ मा रहन्छ । तर, वेस्ट ह्यामसँग हार बेहोर्नु परेको खण्डमा गोलअन्तरको कारण युनाइटेडले लिगको अन्तिम खेलमा लेस्टरविरुद्ध जित हात पार्नेपर्ने हुन्छ।

शिर्ष ४ मा रहने टोलि अर्को वर्ष हुने च्याम्पियनस लिग खेल्न छनोट हुने छ । म्यान्चेस्टर युनाइटेडले बुधबार राति १० : ४५ बजे वेस्ट ह्याम युनाइटेडको सामना गर्दै छ । चेल्सीले भने भोलि राती १ : ०० बजे लिभरपुलसँग भिड्दै छ।

२०७७ श्रावण ७, बुधबार मा प्रकाशित