म्यान्चेस्टर युनाइटेडलाई बराबरीमा रोक्दै वेस्ट ह्याम युनाइटेड रेलिगेसनबाट जोगियो

इंग्लिस प्रिमियर लिग अन्तर्गत गए राती सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेड वेस्ट ह्याम युनाइटेडसँग १-१ को बराबरिमा रोकिएको छ । म्यान्चेस्टर युनाइटेडसँग अंक खोस्दै वेस्ट ह्याम रेलिगेसनबाट जोगिएको हो ।

म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा एन्टोनियोले पेनाल्टी मार्फत गोल गर्दै पाहुना टोलिलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको थप समयमा राइसको प्रहार पोग्बाको हातमा लाग्न पुगेपछि भारको सहायताबाट वेस्ट ह्यामले पेनाल्टी पाएको थियो ।

निर्णायक खेलको ५१ औं मिनेटमा म्यान्चेस्टर युनाइटेडका लागि  ग्रिनउडले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेल बराबरीमा सिमित गराउन युनाइटेडका गोलरक्षक डेविड डिगाले शानदार प्रदर्शन गरे ।

खेलमा अंक बाड्न मजबुर बनेको युनाइटेडले चेल्सीलाई गोलकोअन्तरले पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ ।
तेस्रो स्थानको युनाइटेड र चौथो स्थानको चेल्सीको समान ६३ अंक रहेको छ । पाचौं स्थानको लेस्टरको भने ६२ अंक छ ।

वेस्ट ह्याम युनाइटेड भने १५ औं स्थानमा यथावत रहेको छ । ३७ खेलमा ३८ अंक बटुलेको वेस्ट ह्याम रेलिगेसनबाट जोगिएको छ ।

लिगको अन्तिम खेलमा युनाइटेडले लेस्टरसँग प्रतिस्पर्धा गर्दै छ र खेलमा अंक हात पार्न सकेको खण्डमा युनाइटेडले अर्को वर्ष हुने च्याम्पियन्स लिगमा आफ्नो ठाउँ सुरक्षित गर्ने छ ।

२०७७ श्रावण ८, बिहीबार मा प्रकाशित