लास्कविरुद्ध पुनरागमन जित हात पार्दै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश

गए राती सम्पन्न खेलमा अष्ट्रियन क्लब लास्कमाथी दोस्रो लेगमा २-१ को पुनरागमन जित हासिल गर्दै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइलमा प्रवेश गरेको छ । ओल्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले समग्रमा ७-१ को फराकिलो अन्तरले जित दर्ता गर्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

युनाइटेडको जितमा जेसे लिंगार्ड र एन्थोनी मार्सियलले समान १-१ गोल गरे । पाहुना टोलीका फिलिप वेइसिंगरले गरेको सुरुवाती गोल अन्तिममा सान्त्वनामा सिमित बन्यो । घरेलु मैदानमा भएको पहिलो लेगमा ५-० गोल अन्तरले हार बेहोरेको लास्क सुरुवात देखि नै दबाबमा थियो । मार्चमा भएको पहिलो लेगपछि कोरोना भाइरसको महामारीको कारण दोस्रो लेग ३ महिनाको अन्तरालपछि बुधबार सुचारु भएको हो ।

उत्कृष्ट खेलाडी चुनिएका हुवान माटा

पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । पहिलो हाफमा आक्रमण खेल पस्केको लास्कले गोल गर्न असफल रह्यो । दोस्रो हाफको ५५ औं मिनेटमा फिलिप वेइसिंगरले उत्कृष्ट गोल गर्दै पाहुना टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, लेस्कको अग्रता केवल २ मिनेटमात्र कायम रह्यो । ५७ औं मिनेटको खेलमा लिंगार्डले गोल गर्दै युनाइटेडलाई बराबरीको स्थितिमा ल्याएका थिए । प्रिमियर लिगको अन्तिम भिडन्तमा लेस्टर सिटिविरुद्ध गोल गरेका लिंगार्डले २०१८ यता पहिलो पटक लगातार दुई खेलमा गोल गरेका हुन् । परिवर्तन भएर मैदान उत्रिएका मार्सीयलले ८८ औं मिनेटको खेलमा युनाइटेडको लागि विजयी गोल गरेका थिए । घरेलु टोलिका लागि हुवान माटाले दुबै असिस्ट गरेका हुन् । राम्रो आक्रमण बुनेको लेस्कले युनाइटेडको बलियो रक्षापङ्ति तोड्न नसक्दा साघुँरो हार बेहोर्नु पर्यो ।

इंग्लिस प्रिमियर लिगमा तेस्रो स्थानमा रहदै आगामी संस्करणको लागि छनोट भएको युनाइटेडले क्वाटरफाइलमा डेनमार्कको क्लब एफसी कोपेनहेगनको सामने गर्ने छ । कोपेनहेगनले बुधबार राती नै भएको खेलमा टर्किस क्लब इस्तानबुल बसाकसेहिरलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । अन्तिम आठका खेलहरु अगष्ट १० बाट सुरु हुनेछ । फाइनल खेल जर्मनीको कोलग्नेमा २१ अगष्टमा खेलिने छ ।

गए राती नै सम्पन्न खेलका नतिजाहरु

गए राती नै भएको अन्तिम १६ को अन्य खेलहरुमा डोनेट्स्क र इन्टर मिलानले आ-आफ्नो खेलमा जित हात पार्दै क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।

२०७७ श्रावण २२, बिहीबार मा प्रकाशित