गए राती सम्पन्न खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटिले स्पेनिस च्याम्पियन रियल म्याड्रिडलाई २-१ ले हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगमा १-२ को अग्रता कायम राखेको म्यान्चेस्टर सिटिले समग्रमा ४-२ को फराकिलो जित दर्ता गरेको हो । सिटिको जितमा रहीम स्टर्लिङ र ग्याब्रीएल जेससले समान १-१ गोल गरेका थिए । दुबै गोल म्याड्रिडको डिफेन्डर राफाएल भारानको गल्तीमा सम्भव भएको हो। रियल म्याड्रिडका लागी करिम बेन्जेमाले गरेको एक मात्र गोल केवल सान्त्वनामा सिमित बनेको थियो ।
कोविड-१९ अर्थात कोरोना भाइरसको महामारीको कारण रोकिएको च्याम्पियन्स लिग फुटबल शुक्रबारबाट पुनः सुचारुमा आएको छ । च्याम्पियन्स लिग फुटबल करिब तीन महिनाको लागि बन्द भएको थियो। फेब्रुअरी २६ मा भएको पहिलो लेगमा रियल म्याड्रिडको घरेलु मैदानमा सिटिले १-२ को उत्कृष्ट पुनरागमन जित हासिल गरेको थियो । सिटिले पहिलो लेगमा गोल अग्रता र अवे गोलको फाइदा आत्मसात गरेको थियो ।
क्वाटरफाइनलमा प्रवेश गर्नका लागि रियल म्याड्रिडलाई दोस्रो लेगमा स्पष्ट जितको खाँचो थियो । खेलको ९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । म्याड्रिडको डिफेन्समा तालमेल नमिल्दा सिटिले त्यसको फाइदा उठाएको हो । दबाबमा रहेको घरेलु टोलिले २८ औं मिनेटमा गोल फर्काएको थियो । युवा विंगर रोड्रीगोको उत्कृष्ट मुभमा फरवार्ड करीम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा जिवित राखेका थिए ।
निकै आक्रमण खेल पस्किएको सिटिले ६८ औं मिनेटमा जेससको गोल मार्फत पुन: अग्रता लिगेको थियो ।भारानले दबाबका बीच गोलरक्षक कोर्टुवालाई हेडरमार्फत ब्याक पास खेल्न खोज्दा जेससले उक्त बललाई पेनाल्टी क्षेत्रभित्र पहिलो टचमै गोलको दिशा दिँदै कोर्टुवालाई बिट गरेका थिए । अन्ततः खेलमा अन्य गोल नहुदा सिटिले २-१ को जित हासिल गर्दै च्याम्पियन्स लिगको अन्तिम आठमा आफ्नो ठाउँ सुरक्षित गरेको हो ।
च्याम्पियन्स लिग सर्वाधिक (१३ पटक) विजेता रियल म्याड्रिड अन्तिम १६ बाटै बाहिरिएको छ । गए राती नै भएको अर्को खेलमा इटालियन विजेता युभेन्टसलाई पराजित गर्दै फ्रान्सेली क्लब लियोन क्वाटरफाइनलको लागि छनोट भएको छ । युभेन्टसले रोनाल्डोको २ गोलको मद्दतमा २-१ को जित हात पारेको थियो । तर, पहिलो लेगमा १-० को जित हासिल गरेको लियोन अवे गोलको आधारमा अगाडि बढेको हो । क्वाटरफानलमा इंग्लिस क्लब सिटि र फ्रान्सेली क्लब लियोन आमने – सामने हुनेछन ।
