गए राती सम्पन्न खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले डेनिस क्लब कोपनहेगनमाथी १-० को साँघुरो जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको छ। अतिरिक्त समयमा जोगिन नसक्दा कोपनहेगन युरोपा लिगको दौडबाट आउट भएको हो ।
निकै रोमाञ्चक खेलमा युनाइटेडका लागि ब्रुनो फर्नन्डेजले अतिरिक्त समयमा गरेको गोल नै निर्णायक सावित बनेको थियो। ९० औं मिनेटको निर्धारित समय गोलरहित बराबरीमा समाप्त भएपछी अतिरिक्त समयमा विजेता टोलिको टुंगो लागेको हो ।
अतिरिक्त समयको ९५ औं मिनेटमा एन्थोनी मार्सियललाई कोपनहेगनका डिफेन्डर इन्ड्रिएस विजेल्यान्डले लडाएपछी युनाइटेडले पेनाल्टी पाएको थियो । युनाइटेडले सिजनको २१ औं पेनाल्टी हात पारेको हो । पेनाल्टीमा पोर्चुगिज खेलाडी ब्रुनोले कुनै गल्ती नगरी युनाइटेडको अन्तिम ४ मा स्थान सुरक्षित बनाएका थिए ।
मासन ग्रीनवुडले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेपनि भिएआरले उनको गोल रद्द बनाइदिएको थियो । पहिलो हाफ खराब प्रदर्शन गरेको युनाइटेडले दोस्रो हाफमा सुधारिएको खेल देखाएको थियो। ६१औं मिनेटमा रासफोर्डको प्रहारलाई कोपनहेगनका गोलरक्षक जोन्सोनले बचाएका थिए । लगत्तै फर्नान्डेजको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो ।

निकै आक्रमण खेल पस्केको युनाइटेडका लागि कोपनहेगनका गोलरक्षक कार्ल-जोहान जोन्सोन बाधा बनेका थिए । खेलमा १३ बचाउ गरेका उनले युरोपा लिगको एकै खेलमा सबैभन्दा धेरै बचाउ गर्ने कीर्तिमानमा बराबर गरेका छन् । राम्रो डिफेन्सिभ खेल खेलेको कोपनहेगनले गोल गर्न नसक्दा अन्तिम समयमा हार बेहोर्नु परेको हो ।
४ संस्करण अगाडि युरोपा लिग जितेको युनाइटेडले सेमिफाइनलमा इंग्लिस क्लब वोल्भ्स र स्पेनिस क्लब सेविल्लाबिचको विजेता टोलिसँग प्रतिस्पर्धा गर्नेछ ।
गए राती नै सम्पन्न खेलमा जर्मन क्लब बायर लिभरकुसनमाथि जित हात पार्दै इटालियन क्लब इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीमा सोमबार राति भएको खेलमा इन्टरले लिभरकुसनलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा आफ्नो ठाउँ सुरक्षित गरेको हो । अब इन्टर मिलानले सेमिफाइनलमा युक्रेनी क्लब साख्तर डोनेक्स र स्वीस क्लब एफसी बसेलबीचको विजेतासँग खेल्नेछ ।
