मंगलबार राती सम्पन्न खेलमा इंग्लिस क्लब वोल्भ्सलाई हराउँदै स्पेनिस क्लब सेभिल्लाले सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडसँगको भेट पक्का गरेको छ । अन्तिम समयमा ओकाम्पोसको विजयी गोलमा सेभिल्लाले १-० को जित हासिल गर्दै सातौं पटक युरोपा लिगको अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

खेलमा वोल्भ्सले शानदार सुरुवात गरेको थियो । सेभिल्लाको डिफिन्डरले उत्कृष्ट काउन्टर आक्रमण गरेका अडाम ट्राओरेलाई पेनाल्टी क्षेत्रमा गलत ट्याकल गरेपछि वोल्भ्सले १३ औं मिनेटमा पेनाल्टी जितेको थियो । इंग्लिस प्रिमियर लिग (इपिएल)को २०१९/२० संस्करणमा कुल १७ गोल गरेका राउल जिमेनेज पेनाल्टीबाट गोल गर्न चुकेपछी वोल्भ्सले सुरुवाती अग्रता लिने अवसर गुमाएको थियो ।
त्यसपछि गोल गर्ने अवसर सिर्जना गर्न नसकेको वोल्भ्सले खेलको अन्तिम समयमा सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो। खेलको ८८ औं मिनेटमा एभर बनेगाको क्रसमा अर्जेन्टिनी खेलाडी लुकास ओकाम्पोसले उत्कृष्ट हेडर गोल गर्दै वोल्भ्सलाई स्तब्ध बनाएका थिए। ओकाम्पोसले जारी सिजनमा १७ गोल गरिसकेका छन् । साघुँरो गोलअन्तरले जित हात पारेपनी खेलमा निकै पोजेसन राखेको सेभिल्लाले खेल आफ्नो कब्जामा पारेको थियो ।
हार बेहोरेको वोल्भ्सले आगामी सिजन युरोपियन प्रतियोगितामा भाग जनाउन पाउने छैन । यसअघि, वोल्भ्सले सातौं स्थानमा रहेर इपिएलको बिदाइ गरेको थियो ।
पाँचौ पटक युरिपिएन लिग च्याम्पियन सेभिल्ला पछिल्लो १९ खेलमा अपराजित रहेको छ । कोपनहेगनलाई क्वाटरफाइनलना पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको म्यान्चेस्टर युनाइटेडले फाइनल पुग्नका निम्ति सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ ।
जिमिनेज पहिलो पटक पेनाल्टीमा चुके
राउल जिमिनेज पहिलो पटक पेनाल्टीबाट गोल गर्न चुकेका हुन् । यसअघि, पछिल्लो ८ पेनाल्टीमा उनले गोल गरेका थिए । वोल्भ्सका डिफेन्डर रोमेन साइसले पहिलो कार्ड बेहिरेपछी २०१८/२० को सिजनमा सर्वाधिक पहिलो कार्ड बेहोर्ने प्रिमियर लिग खेलाडी बनेका छन् । वोल्भ्सले जारी सिजनको युरोपा लिगमा सुरुवात देखि पहिलो पटक सेभिल्लाविरुद्धको खेलमा गोलगर्नबाट चुकेको हो।

सेभिल्ला सातौं पटक युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इटालियन क्लब इन्टर मिलान मात्र सातभन्दा (८ पटक) बढी पटक युरोपा लिगको सेमिफाइनलमा पुग्ने टोलि हो ।
यस्तै गए राती नै सम्पन्न खेलमा युक्रेनी क्लब साख्तर डोनेक्स युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीस क्लब एफसी बसेलमाथि ४–१ को सहज जित निकाल्दै साख्तरले अन्तिम चारमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा डोनेक्सले इटालियन क्लब इन्टर मिलानसँग भिड्ने छ ।
