गए राती सम्पन्न खेलमा जर्मन क्लब आरबी लाइप्जिगले स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई २-१ ले हराउँदै पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । रोमाञ्चक खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
दुबै टोलिले पहिलो हाफमा गोल गर्ने सुनौलो अवसर सिर्जना गरेका थिए । तर, दुबै टोलिबाट कुनै पनि गोल सम्भव नभएपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ५० औं मिनेटमा ड्यानी ओल्मोको गोलमा लाइप्जिगले सुरुवाती अग्रता हात पारेको थियो । मार्सेल साबिट्जरले पेनाल्टी बक्सभन्दा केही बाहिरबाट गरेको क्रसलाई उनले शानदार हेडर मार्फत बललाई गोलको दिशा देखाएका थिए । एटलेटिको म्याड्रिडका ८ जना डिफेन्डर पेनाल्टी बक्समा भएता पनि ओल्मोलाई मार्क नगर्दाको गल्ती डिएगो सिमोनेको टोलिले भोग्नु पर्यो ।
७१ औं मिनेटको खेलमा पेनाल्टी बक्स बाहिरबाट एक्लैले आक्रमण बुनेका जआओ फेलिक्सलाई लाइप्जिगका डिफेन्डर लुकास कोल्स्टरम्यानले पेनाल्टी बक्सभित्र गलत ट्याकल गरेर लडाएपछी एटलेटिको म्याड्रिडले पेनाल्टी प्राप्त गरेको थियो । फेलिक्स एटलेटिको म्याड्रिडलाई खेलमा फर्काउने सुनौलो अवसरबाट चुकेनन् । पोस्टको दायाँ तर्फ गरेको पेनाल्टीलाई लाइप्जिगका गोलरक्षकले सहि अनुमान लगाएपनी बचाउन भने सकेनन् ।
निर्धारित समयको दुई मिनेट बाँकी रहदा टाइलर एडम्सले गोल गर्दै जर्मन क्लबको लागि ११ वर्षको स्थापना पछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गराएका थिए ।उनको लाइप्जिगको लागि यो २८ खेलमा पहिलो गोल हो । ठिक पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई एटलिटिको म्याड्रिडका डिफेन्डर लोडीलाई लागेर डिफ्लेकसन भएको बलले दिशा परिवर्तन भएर गोलमा परिणत भएको थियो । सुरुमै डाइभ गरिसकेका गोलरक्षकसँग बलले जाली चुमेको हेर्नू बाहेक कुनै विकल्प थिएन ।
डिफेन्डिङ च्याम्पियन लिभरपुललाई पराजित गरेर क्वाटरफाइनलमा प्रवेश गरेको एटलेको म्याड्रिड च्याम्पियन्स लिगको दौडबाट बाहिरिएको छ। जितसँगै लाइप्जिगले सेमिफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको भेट पक्का गरेको हो ।
एटलेटिको म्याड्रिड पहिलो पटक च्याम्पियन्स लिगको नकआउट स्टेजमा जर्मन क्लबसँग पराजित
एटलेटिको म्याड्रिड च्याम्पियन्स लिगको नकआउट स्टेजमा जर्मन क्लबसँग पहिलो पटक पराजित भएको हो । योभन्दा अगाडि ३ पटक जर्मन क्लबसँग प्रतिस्पर्धा गर्दा एटलेटिकोले सबै खेलमा जित हात पारेको थियो । जर्मन क्लब बार्यन लिभेरकुसन दुई पटक र बार्यन म्युनिख एक पटक च्याम्पियन्स लिगको नकआट स्टेजमा एटलेटिकोको सिकार बनेका थिए ।
यस्तै, आरबी लाइप्जिग पनि २०१०/११ यता म्युनिख र डर्टमन्ड बाहेक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो जर्मन क्लब बनेको छ । यसअघि, जर्मन क्लब स्यालेक २०१०/११ को संस्करणमा च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो ।
