७ वर्षसम्म चेल्सीमा रहेका विलियन आर्सनलमा अनुबन्धित

ब्राजिलीयन मिडफिल्डर विलियन फ्रि एजेन्टको रुपमा चेल्सीबाट आर्सनलमा अनुबन्धित भएका छन् । ३२ वर्षिय विलियनलाई आर्सनलले ३ वर्षे सम्झौतामा भित्र्याएको हो ।डेल्ली मेलको अनुसार उनले आर्सनलबाट प्रतिसाता २ लाख २० हजार पाउन्ड आफ्नो गोजीमा पार्नेछन् ।

च्याम्पियन्स लिग अन्तर्गत बार्यन म्युनिखसँगको प्रि-क्वाटरफाइनल खेलपछि विलियनको चेल्सीसँगको सम्झौता समाप्त भएको थियो ।उक्त खेलमा चेल्सीले ४-१ को नमिठो हार बेहोर्दै च्याम्पियन्स लिगको दौडबाट बाहिरिएको थियो । विलियनलाई आफ्नो टिममा समावेश गर्न स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मियामीले पनि चासो देखाएका थिए ।

उमेर ढल्किएको कारण विलियनमा महँगो रकम खर्च गरेकोले आर्सनलका समर्थकहरु आक्रोशमा आएर विरोध गरेका थिए । तर, उनलाई टिममा समावेश गर्न पाउदा प्रशिक्षक मिकेल अर्टेटा भने निकै खिशी छन् ।

“विलियनले हाम्रो टोलिमा सकारात्मक भिन्नता ल्याउने कुरामा म विश्वस्त छु । उनको आगमनसँगै हाम्रो विंगर र आक्रमक मिडफिडको पोजिसन निकै मजबुत बनेको छ । उनले थुप्रै भुमिका निर्वाह गर्न सक्छन् जसकारण हामीलाई थुप्रै विकल्प रहने छन् ।”,आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटाले बताएका हुन् ।

“उनमा विश्वफुटबलको प्रसस्त अनुभव छ । विलियनमा आर्सनल आउने ठुलो चाहाना रहेको थियो । पछिल्लो समय उनिसँग भएको कुरामा म निकै प्रभावित भएको थिए,”अर्टेटाले थपे ।

विलियन २०१३ मा रसियन क्लब एन्जि माखाचाख्लाबाट ३० मिलियन पाउन्डमा चेल्सी आएका थिए । चेल्सीका लागि समग्रमा विलियनले ६३ गोल गरेका छन् । उनले चेल्सीबाट दुई पटक इंग्लिस प्रिमियर लिग र समान एकपटक एफए कप, इएफएल कप र युरोपा लिग जितेका छन् ।

२०१८/२० को संस्करणमा आर्सनल ८ औं स्थानमा रहेको थियो । एफए कपको उपाधी जितेको आर्सनलले आगामी वर्ष युरोप फुटबलमा सहभागी जनाउने छ ।

२०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित