गए राति सम्पन्न खेलमा स्पेनिस क्लब सेभिल्लाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमाथि २-१ को शानदार पुनरागमन जित आत्मसाथ गर्दै युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ। योसँगै, म्यानचेस्टर युनाइटेड लगातार तिन पटक युरोपियन प्रतियोगिताबाट स्पेनिस क्लबको हातबाट बाहिरिएको हो।
खेलको नवौ मिनेटमा ब्रुनो फर्नान्डेसको पेनाल्टी गोल मार्फत युनाइटेडले सुरुवाती अग्रता हासिल गरेको थियो। मार्कस रासफर्डलाई डिएगो कार्लोसले लेट टायम ट्याकल गरेर लडाएपछि युनाइटेडले सिजनको २२ औ पेनाल्टी प्राप्त गरेको थियो। २०१५/१६ सिजन यता युरोपको पाँच शिर्ष डिभिजन लिगको एकै संस्करणमा एक टिमले पाएको यो सर्वाधिक पेनाल्टि हो। यसअघि, बार्सिलोनाले २०१५/१६ सिजनमा २४ पेनाल्टि प्राप्त गरेको थियो। फर्नान्डेसले युनाइटेडका लागि यस सिजन पेनाल्टी मार्फत १४ गोल गर्दै युनाटेडलाई फाइनल तर्फ अग्रसर गराएका थिए।
सुसोले २६ औ मिनेटको खेलमा गोल गर्दै स्पेनिस क्लबलाई खेलमा फर्काएका थिए।सर्जियो रेगुइलोनले बायाँ विंगबाट दिएको पासमा पेनाल्टि बक्स भित्र अनामार्क अवस्थामा रहेका सुसोले युनाइटेडका गोलरक्षकलाई बिट गर्न सफल भएका थिए। दोस्रो हाफको सुरुवाती समयमा युनाइटेडले गोल गर्ने अवस्था सिर्जना गरेता पनि सेभिल्लाका गोलरक्षक बौनोउ बाधक बनेका थिए।
क्वाटरफाइनलमा वोल्भ्सलाई माथ दिएको सेभिल्लाका लागि लुक दे जोङले ७८ औ मिनेटमा विजयी गोल गरेका थिए। कप्तान नाभासले दायाँ विंगबाट गरेको क्रसमा शानदार गोल गर्दै सेभिल्लालाई खेलमा जिततर्फ उन्मुख गराएका थिए। पछिल्लो १२ खेलमा उनको यो पहिलो गोल हो।
२० खेलसम्म अपराजित रहेको सेभिल्लाले फाइनलको लागि इन्टर मिलान र शाख्तर डोनेट्स्क बिचको विजेता टोलिसँग प्रतिस्पर्दा गर्नेछ। फाइनल खेल शनिबार राति खेलिनेछ ।
