IPL : राजस्थानलाई पराजित गर्दै बैंगलोर अंकतालिकाको शिर्ष स्थानमा

युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शनिबार दिउँसो सम्पन्न १५ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। ४ खेलमा ३ जित र १ हारसहित बैंगलोर अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने लगातार २ खेल हारेको राजस्थान छैटौं स्थानमा यथावत छ।

आबु धाबी स्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिंग रोजेको राजस्थानले १५५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा बैंगलोरले  १९.१ ओभरमा २ ओभर गुमाएर पूरा गर्यो।

ओपनरद्वय एरोन फिन्चं र देभदत्त पाडिक्कलले पहिलो विकेटका लागि २५ रनको साझेदारी गरे जसपश्चात् फिंच ८ रन बनाएर श्रेयस गोपालको तेस्रो ओभरमा आउट भए। १ नम्बरमा ब्याटिंग गर्न आएका कप्तान विराट कोहली र पाडिक्कलले दोस्रो विकेटका लागि ९९ रनको साझेदारी गर्दै बैंगलोरलाई सहज जिततर्फ उन्मुख गराए।

१६ औं ओभरमा जोफ्रा आर्चरले ४५ बलमा ६३ रनको पारी खेलेका पाडिक्कललाई बोल्ड गरे। जारी प्रतियोगितामा ब्यक्तिगत तेस्रो अर्धशतक पूरा गर्ने क्रममा उनले ६ चौका र १ छक्का प्रहार गरे। पहिलो ३ खेलमा खराब प्रदर्शन गरेका कोहलीले जारी प्रतियोगितामा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा ५३ बलमा ७२ रनको अविजित पारी खेले। उनले ७ चौका र २ छक्का हिर्काए। अन्त्यमा, एबि डिभिल्लियर्स १० बलमा १२ रन बनाएर अविजित रहे।

राजस्थानको बलिंगतर्फ जोफ्रा आर्चर (४-०-१८-१) र श्रेयस गोपालले (४-०-२७-१) समान एक-एक विकेट लिए।

राजस्थानको खराब ब्याटिंग 

यसअघि टस जितेर ब्याटिंगको निर्णय लिएको  राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।

राजस्थानको लागि सिजनको पहिलो खेल खेलीरहेका महिपाल लोमरोरले सर्वाधिक ४७ रन बनाए। ३९ बलमा उनले १ चौका र ३ छक्का हिर्काए। खराब सुरुवात गरेको राजस्थानले अन्त्यमा तेज गतिमा रन बनाउदा प्रतिस्पर्धात्मक योगफल तयार पार्न सकेको थियो।

राजस्थानले कप्तान स्टिभ स्मिथलाई ५ रनको स्कोरमा तेस्रो ओभरमा गुमायो जसलाई इसुरु उदानाले बोल्ड गरे।
आक्रामक ब्याटिंग गरेका जोस बटलर १२ बलमा ३ चौका र १ छक्काको मद्दतमा २२ रन बनाउदै नवदिप सैनीको ओभरमा पाडिक्कलको हातबाट समातिए। लागत ओभरमा सन्जु स्यामसनलाई युजवेन्द्र चहालले कट एन्ड बोल्ड आउट बनाए जसले ४ रन बनाउन सके। पावरप्लेमा ३ महत्त्वपूर्ण विकेट गुमाएको राजस्थान दबाबमा आएको थियो।

भेट्रान खेलाडी रोबि उथप्पा र जारी सिजन आफ्नो पहिलो खेल खेलिरहेका महिपाल लोमरोरले चौथो विकेटका लागि ३९ रनको साझेदारी गर्दै राजस्थानको स्कोर अघि बढाए। उथप्पा २२ बलमा १७ रन बनाएर चहालको बलिंगमा आउट भए। पाचौं विकेटका लागि रियान पराग र लमरोरले ३५ रनको साझेदारी गरे जसपछी पराग १८ बलमा १६ रन बनाएर १६ औं ओभरमा उदानाको बलिंगमा फिन्चको हातबाट समातिए।

३९ बलमा १ चौका र ३ छक्काको मद्दतमा ४७ रन बनाएका लमरोरलाई चहालले पेभेलियनको बाटो देखाए। सातौँ विकेटको लागि राहुल तेवतिया र जोफ्रा आर्चरले आक्रामक ब्याटिंग गर्दै टिमको योगफल १५० पार गराए। तेवतियाले अन्तिम ओभरमा नभदिपसैनीलाई लगातार २ छक्का हिर्काए।

तेवतियाले अविजित २४ रन बनाए जुन क्रममा १२ बलमा ३ छक्का प्रहार गरे। आर्चरले १० बलमा १ चौका र १ छक्का मद्दतले १६ रन बनाए। दुवैले २१ बलमा ४० रनको अविजित साझेदारी गरे।

बैंगलोरको बलिंगतर्फ चहालले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। इसुरु उडानाले २ ( ४-०-४१-२ ) तथा नभदिप सैनीले १ ( ४-१-३७-१ ) विकेट लिए।  वासिंगटन सुन्दर ( ४-०-२०-० ) , एडम जाम्पा ( ३-०-२७-० ) विकेटविहिन रहे।

२०७७ आश्विन १७, शनिबार मा प्रकाशित