युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत शनिबार राती सम्पन्न १६ औं खेलमा दिल्ली क्यपिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। ४ खेलमा ३ जित र १ हारसहित दिल्ली अकंतालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने समान ४ खेलमा २ जित र २ हारसहित कोलकाता अकंतालिकाको चौथौ स्थानमा यथावत रहेको छ।
शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको दिल्लीले २२९ रनको चुनौतीपुर्ण लक्ष्य प्रस्तुत गरेको थियो जुन पछ्याउने क्रममा कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१० रनमात्र बनाउन सक्यो।
चुनौतीपुर्ण लक्ष्यको पिछा गरेको कोलकाताले राम्रो सुरुवात पाउन सकेन। दोस्रो ओभरमा सुनिल नाराणलाई एन्रिक नोर्कियाले ३ रनको स्कोरमा पेभेलियनको बाटो देखाए। दोस्रो विकेटका लागि सुभमन गिल र नितिश रानाले ६४ रनको साझेदारी गर्दा कोलकाता सम्हालिएको थियो। पछिल्लो खेलमा अर्धशतक बनाएका गिल २२ बलमा २८ रन बनाएर नवौं ओभरमा आउट भए। २ चौका र १ छक्का प्रहार गरेका उनलाई अमित मिश्राले विकेटकिपर रिषभ पन्तको हातबाट आउट गराए।

चौथौ नम्बरमा ब्याटिंग गर्न आएका आन्द्रे रसेल ८ बलमा समान १ चौका र १ छक्काको मद्दतमा १२ रन बनाएर कागीसो रबाडाको सिकार बने। चौथौ विकेटका लागि कप्तान दिनेश कार्तिकले रानासगँ २३ रनको साझेदारी गर्दै कोलकाताको स्कोर अघि बढाए। १३ औं ओभर लिएर आएका हर्षल पटेलले लगातार दुई बलमा राना र कार्तिकको (६ रन) विकेट लिदै कोलकातालाई दबाबमा ल्याए। ३५ बलमा सर्वाधिक ५८ रन बनाएका रानाले समान ४ चौका र ४ छक्का प्रहार गर्न सके।
सातौं विकेटका लागि ओएन मोर्गान र राहुल त्रिपाठीले ७८ रनको विस्फोटक साझेदारी गर्दै कोलकाताको जितको झिनो आशा कायम राखे। १८ बलमा १ चौका र ५ छक्काको मद्दतमा ४८ रनको तुफानी पारी खेलेका मोर्गानलाई नोर्कियाले आउट बनाए। रबाडाको १८ औं ओभरमा उनले लगातार ३ छक्का हिर्काएका थिए। जारि सिजन आफ्नो पहिलो खेल खेलिरहेका त्रिपाठीले १६ बलमा समान ३ चौका र ३ छक्काको मद्दतमा ३६ रन बनाएर अन्तिम ओभरमा स्टोइनिसको बलिंगमा बोल्ड भए। अन्तिम ओभरमा २६ रनको आवस्यकता पर्दा बलिंगमा आएका स्टोइनिसले टिमलाई १८ रनको जित दिलाए।
दिल्लीको बलिंगतर्फ एन्रिक नोर्कियाले (४-०-३३-३) ३ विकेट लिए भने हर्षल पटेलले (४-०-३४-२) २ विकेट हात पारे। यस्तै, कागीसो रबाडा (४-०-५१-१), अमित मिश्रा (२-०-१४-१), र मार्कुश स्टोईनिशले (४-०-४६-१) समान १-१ विकेट लिए।
दिल्लीको ब्याटिंगमा कप्तान अय्यरको अविजित अर्धशतक
यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो जुनक्रममा कप्तान श्रेयस अय्यरले ८८ रनको अविजित अर्धशतकीय पारी खेलेका थिए।
ओपनरद्वय शिखर धवन र पृथवी शले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे जसपछि १६ बलमा २६ रन (२ चौका र २ छक्का) बनाएका धवन छैटौं ओभरमा वरुण चक्रवतीको बलिंगमा ओएन मोर्गानको हातबाट समातिए। १ नम्बरमा ब्याटिंग गर्न आएका श्रेयस अय्यरसगँ शले दोस्रो विकेटका लागि ७३ रनको आक्रामक साझेदारी गर्दै दिल्लीको स्कोर अघि बढाए।

४१ बलमा समान ४ चौका र ४ छक्काको मद्दतमा ६६ रन बनाएका पृथवी १३ औं ओभरमा कमलेश नगरकोटिको बलिंगमा आउट भए। अय्यले रिषभ पन्तसगँ तेस्रो विकेटका लागि ७२ रनको विस्फोटक साझेदारी गर्दै दिल्लीलाई विशाल योगफलतर्फ उन्मुख बनाए। पन्त १७ बलमा ३८ रन (५ चौका र १ छक्का) बनाएर १८ औं ओभरमा आउट भए। मार्कुश स्टोइनिशले १ रन बनाउदा शिमरोन हेटमाएरले ५ बलमा १ छक्काको मद्दतमा ७ रन बनाएर अविजित रहे।
कप्तान अय्यरले ३८ बलमा अविजित ८८ रन बनाए। उनले ७ चौका र ६ छक्का हिर्काए। अय्यरको यो आईपिएल इतिहासकै तेस्रो सर्वाधिक व्यक्तिगत स्कोर हो। उनले २०१७ को सिजनमा गुजरात लायन्स विरुद्ध ९६ रनको पारी खेलेका थिए भने २०१८ को सिजनमा कोलकाता विरुद्धनै अविजित ९६ रन बनाएका थिए। दिल्लीका कप्तान अय्यरले जारी सिजन ४ खेलमा १७० रन बनाइसकेका छन्।
शारजाहको सानो मैदानमा कोलकाताको बलिंगतर्फ आन्द्रे रसेलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए। वरुण चक्रवती (४-०-४९-१) र कमलेश नगरकोटिले (३-०-३५-१) समान एक-एक विकेट लिदा अन्य बलर विकेटविहिन रहे।
