सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बोर्ड सदस्यहरु नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले परिषद्का रिक्त ९ जना बोर्ड सदस्य नियुक्त गरेको हो । नयाँ बनेको बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी मनोनित भएका छन् ।
खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ, सुवर्णा श्रेष्ठलाई नियुक्त गरिएको छ । खेलकुद संघबाट आउने दुई महिला कोटा बाँकी थियो ।
ऐनको दफा ३ को २ को (ट) अनुसार खेलकुदको विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीहरु मध्य सबै प्रदेशबाट प्रतिनिधित्व हुने गरी महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेसी, थारु, मस्लिम, पिछडिएको क्षेत्रको समेतबाट प्रतिनिधित्व हुने गरी कम्तीमा तीन महिला सहित सरकारले मनोनयन गर्ने व्यवस्था छ ।

तर यसमा मनोनयन गर्दा कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तराष्ट्रिय पूर्व खेलाडीहरु मध्यबाट गर्नुपर्ने उल्लेख छ । सोही अनुसार मन्त्रीपरिषद्को सोमबारको बैठकले बोर्ड सदस्यको नियुक्त गरेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐनले ३७ जना बोर्ड सदस्यको व्यवस्था गरेको छ । ऐनको प्रावधान अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गर्नुभएको थियो ।
मन्त्री विश्वकर्माले परिषद् अध्यक्षको हैसियतमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द्र भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो ।
नयाँ ऐन अनुसार राखेप सदस्य सचिवमा रमेश सिलवाल र उपाध्यक्षमा शिव कोइराला मन्त्रीपरिषदबाट नियुक्त भइसक्नुभएको छ ।
