तेश्रो टि-२० मा अस्ट्रेलियासंग १२ रनले पराजित भएता पनि भारतले तिन टि-२० अन्तर्राष्ट्रियको सिरिजमा अस्ट्रेलियालाई २-१ ले पराजित गरेको छ। भारतले यस अघि पहिलो खेल ११ रनले तथा दोश्रो खेल ६ विकेटले जितेको थियो।
सिड्नी क्रिकेट ग्राउण्ड, सिड्नीमा भरि स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा भारतले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा कप्तान बिराट कोहलीले ६१ बलमा ४ चौका र ३ छक्का मद्दतले ८५ रन बनाए पनि टिमलाई जित भने दिलाउन सकेनन्। २५ औं टि-२० अन्तर्राष्ट्रिय अर्धशतक बनाउदै कोहलीले रोहित शर्माको सर्वाधिक टि-२० अर्धशतक बनाउने रेकर्ड बराबरी गरेका छन्। शिखर धवनले २८, हार्दिक पान्ड्याले २० तथा शार्दुल ठाकुरले २० रन बनाए।

ओपनर केएल राहुल खाता नखोली पहिलो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर धवनले कोहलीसंग ७४ रनको साझेदारी गरेका थिए। त्यसपछि लेग स्पिनर मिचेल स्वेपसनले धवन, संजु स्यामसन ( १० ) र श्रेयस ऐयर ( ० ) को विकेट लिंदै अस्ट्रेलियालाई खेलमा फर्काए।
चौथो विकेटको लागि कोहलीले हार्दिक पान्ड्यासंग ४४ रनको साझेदारी गरे। अन्तिम ३ ओभरमा ४३ रन आवस्यक रहंदा १८ औं ओभरमा एडम जाम्पाले मात्र ७ रन खर्चेर पान्ड्याको तथा १९ औं ओभरको पहिलो बलमा एन्ड्रु टाईले कोहलीको विकेट लिंदै अस्ट्रेलियालाई खेलमा हावी गराए।
अस्ट्रेलियाको बलिंगमा मिचेल स्वेपसनले व्यक्तिगत उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २३ रन खर्चिए। ग्लेन म्याक्सवेल, सिन एबोट, एन्ड्रु टाई र एडम जाम्पाले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको घरेलु टिमले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो।

अस्ट्रेलियाको लागि ओपनर म्याथु वेडले सर्वाधिक ८० रन बनाए जुन क्रममा ५३ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै ग्लेन म्याक्सवेलले ३६ बलमा ३ चौका र ३ छक्का मद्दतले ५४ रन बनाए। स्टिभ स्मिथए २४ रन बनाए।
कप्तान फिंच खाता नखोली आउट भएपछि वेडले दोश्रो विकेटको लागि स्मिथसंग ६५ रनको तथा तेश्रो विकेटको लागि म्याक्सवेलसंग ९० रनको साझेदारी गरे।
भारतको बलिंगमा वासिंगटन सुन्दरले २ तथा टि नटराजन र शार्दुल ठाकुरले समान १ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच मिचेल स्वेपसन तथा प्लेयर अफ द सिरिज हार्दिक पान्ड्या चुनिए।
यस अघि सम्पन्न एकदिवसीय सिरिज अस्ट्रेलियाले २-१ ले जितेको थियो। अब दुइ देश बीच ४ वटा टेस्टको सिरिज डिसेम्बर १७ देखि एडलेडमा सुरु हुनेछ।
