कुल्टर-नाइलले घातक बलिंग गर्दा ब्रिसबेनद्वारा स्टार्सलाई झिनो लक्ष्य प्रस्तुत

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत शुक्रबार जारि दोस्रो खेलमा नाथन कुल्टर-नाइलले घातक बलिंग गर्दा ब्रिसबेन हिटले मेलबर्न स्टार्सलाई १२६ रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको छ।

क्यानवेरा स्थित मानुका ओभल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको हिटले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउंदै मात्र १२५ रन बनाउन सक्यो। स्टार्सका लागि नाथन कुल्टर-नाइलले घातक बलिंग गर्ने क्रममा १० रन खर्चिएर ४ विकेट लिए।

ओपनरद्वय म्याक्स ब्रायन्ट र हिज्लेटले पहिलो विकेटको लागि १९ रनको साझेदारी गरे। ब्रायन्टले २० बलमा २० रन तथा हिज्लेटले १३ बलमा १४ रन बनाए। सुस्त सुरुवात गरेको हिटले पावरप्लेमा १ विकेट गुमाएर ३२ रन बनाएको थियो। त्यसपछि, लगातार रुपमा विकेट गुमाएको हिट सस्तोमा समेटियो। तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका कप्तान क्रिस लिन २० बलमा २० रन बनाएर कुल्टर-नाइलको बलिंगमा आउट भए। डानियल लरेन्स नवौं ओभरमा ८ रन बनाएर रन आउट भए। टम कुपर र पिएरसनले पाचौं विकेटको लागि ३५ रनको साझेदारी गर्दै हिटको इनिंग सम्हाले। कुपरले २६ तथा पिएरसनले १८ रन बनाए। ज्याक वुड र जावियर बार्लेट व्यक्तिगत २ रनको स्कोरमा रन आउट भए।

दुवै टोलि आज जित हात पार्दै प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छन्। बिहिबार समपन्न उद्घाटन खेलमा होबार्ट हरिकेन्सले सिड्नी सिक्सरमाथि १६ रनको जित दर्ता गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो।

स्टार्सको बलिंगतर्फ नाथन कुल्टर-नाइलले सर्वाधिक ४ विकेट लिए। यस्तै, दिलभर हुसेनले २ तथा हिन्क्लिफेले १ विकेट लिए।

२०७७ मंसिर २६, शुक्रबार मा प्रकाशित