भारत-अस्ट्रेलिया टेस्ट पहिलो दिन : कोहलीको विकेटपछि अस्ट्रेलिया हावी

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत चारवटा टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट एडीलेड ओभलमा सुरु भएको छ।

डे-नाइट पिंक बल टेस्टमा टस जितेर ब्याटिंग रोजेको भारतले पहिलो दिनको समाप्तिमा ८९ ओभरमा ६ विकेट गुमाएर २३३ रन बनाएको छ।

भारतको सुरुवात राम्रो हुन सकेन। ओपनर पृथ्वी श खाता नखोली पहिलो ओभरमा मिचेल स्टार्कबाट बोल्ड भए। अर्का ओपनर मायाँक अग्रवाल पनि १७ रन बनाएर प्याट कमिन्सबाट बोल्ड भए।

तेश्रो विकेटको लागि चेतेश्वर पुजारा र कप्तान बिराट कोहलीले ६८ रनको साझेदारी गरे। पुजारालाई नाथन लायनले क्याच आउट गराए। पुजाराले १६० बलमा २ चौका प्रहार गर्दै ४३ रन बनाए।

कोहलीले चौथो विकेटको लागि अजिंक्ये रहानेसंग ८८ रन जोडे। ७७ औं ओभरमा कोहलीलाई जोश हेजलवुडले रन आउट गरे। रहानेले गरेको गलत रन लिने आग्रहका कारण कोहलीले विकेट गुमाउन पुगे। रहानेले रन लिन बोलाएपछि कोहली क्रिजको बीचमा पुगीसकेका थिए जसपछि रहनेले उनलाई फर्काएका थिए जति बेला कोहली पुनः अर्को किनारमा पुग्ने सम्भावना थिएन। कोहलीले ७४ रन बनाए जुन क्रममा १८० बलमा ८ चौका हिर्काए। २८ औं टेस्ट शतक बनाउने मुडमा रहेका कोहलीको चाहना पुरा हुन नसक्दा कोहली निराश हुँदै पेभेलियन पुगेका थिए।

कोहलीको विकेट पछि ४२ रन बनाएका रहानेलाई स्टार्कले एलबिडब्लु आउट गरे। लगत्तै १६ रन बनाएर हनुमा विहारीलाई पनि हेजलवुडले एलबिडब्लु आउट गरे।

दिनको समाप्तिमा विकेटकिपर ब्याट्सम्यान रिद्दिमान साहा ९ तथा रभीचन्द्रन आश्विन १५ रन बनाएर ब्याटिंग गरिरहेका छन्। दुवैले सातौं विकेटको लागि २७ रनको साझेदारी गरिसकेका छन्।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्कले सर्वाधिक २ विकेट ( १९-४-४९-२ ) लिएका छन् भने जोश हेजलवुड ( २०-६-४७-१ ) , प्याट कमिन्स ( १९-७-४२-१ ) र नाथन लायन ( २१-२-६८-१ ) ले समान १ विकेट लिएका छन्।

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत यस अघि सम्पन्न एकदिवसीय सिरिजमा अस्ट्रेलिया २-१ ले तथा टि-२० सिरिजमा भारत २-१ ले विजयी भएको थियो।

यो पनि पढ्नुस :-

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ व्हाटमोर नियुक्त, चिन्नुस को हुन् व्हाटमोर

आयो विश्वकप लिग-२ को नयाँ खेलतालिका, नेपालले ओमानमा त्रिकोणात्मक सिरिज खेल्ने

२०७७ पुष २, बिहीबार मा प्रकाशित