सगरमाथा र एक्स्पर्ट क्लब बीच एकता

अस्ट्रेलियाको क्रिकेट समुदायमा चर्चित दुई नेपाली क्लब सगरमाथा क्रिकेट क्लब र एक्स्पर्ट क्रिकेट क्लब एक हुने भएका छन्। दुई क्लबको एकता हुने भएपछि अब क्लबको नाम ‘एक्स्पर्ट सगरमाथा ब्लुज’ भएको छ।

अस्ट्रेलियाको नेपाली क्रिकेट समुदायमा चर्चित दुई क्लबको एकताले क्लब तथा नेपाली क्रिकेट विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै क्लबले लिएको छ।

अस्ट्रेलियाको भिक्टोरियामा सक्रिय एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिस आफ्नो क्लब तथा ठूला क्रिकेट प्रतियोगिताहरुमा प्रायोजकको रुपमा समेत अघि बढ्दै आएको छ। क्रिकेट विकासमा सक्रिय एक्स्पर्टले बिभिन्न स्कुल तथा कलेज स्तरीय क्रिकेट प्रतियोगिताहरुको नेपालमा तथा अस्ट्रेलियामा समेत आयोजना र प्रायोजन गर्दै आएको छ। नेपालमा आयोजना हुने पोखरा प्रिमियर लिगमा एक्स्पर्टको स्वामित रहेको ‘एक्स्पर्ट धनगढी ब्लुज’ टिम सहभागी हुँदै आएको छ। राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का एक्स्पर्टको ब्राण्ड एम्बासडर हुन्।

अर्कोतर्फ सगरमाथा क्रिकेट क्लब अस्ट्रेलियाको भिक्टोरियाको नेपाली समुदाय क्रिकेटमा चर्चित नाम हो। सगरमाथाले भिक्टोरियाको स्टेट प्रतियोगिताहरु समेत सहभागिता जनाइसकेको छ। क्लबका खेलाडीहरुले ठूला क्लबहरु एसेनडन र वेरीबी क्रिकेट क्लबबाट तथा मेलबर्न रेनेगेड्सको समेत प्रतिनिधित्व गरिसकेका छन्। सगरमाथा क्लब अस्ट्रेलिया भिक्टोरियाको ग्रेड लेभल क्रिकेट जित्ने पहिलो नेपाली सामुदायिक क्लब हो जसले २०१८/१९ को सिजनमा उक्त उपलब्धि हाँसिल गरेको थियो। अस्ट्रेलियाको नेपाली समुदाय बीच हुने प्रतियोगितामा ३ वटा टिम समाबेश गरेर खेल्ने सगरमाथा पहिलो क्लब पनि हो। क्लबले हालसम्म बिभिन्न ४ वटा क्रिकेट प्रतियोगिताहरु जितीसकेको छ। क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमको सहयोगमा सोलांगटुरसंगको सहकार्यमा १ लाख ८० हजार रुपैयाँ समेत सहयोग प्रदान गरेको थियो।

सगरमाथा क्लबका उपाध्यक्ष सुदिप न्यौपानेले एकता बारे बोल्दै दुवै क्लबको उद्देश्य एउटै भएको र सहकार्यले उद्देश्य प्राप्तिमा अझ सकारात्मक भूमिका खेल्ने बताए –

“हाम्रो क्लबको भनाइनै छ कि ‘हामि क्लब भन्दा पनि परिवार हौँ’। हामि उत्साहित र गर्वाका साथ दुई परिवारको एकताको घोषणा गर्दैछौँ।दुवै क्लबको एउटै उद्देश्य र नेपाली क्रिकेटको विकासको लागि एकै भावना रहेको छ। हामि अब एक साथ हाम्रो उद्देश्य प्राप्तिको लागि अघि बढ्ने छौँ।”

सगरमाथा क्लबसंग हाल दुईवटा ठूलो टिम रहेको छ जसमा ५० जना सक्रिय क्रिकेटरहरु खेल्दै आएका छन्। क्लबका अध्यक्ष संजय कंडेल हुन् भने टिमको कप्तान कुशल तुलाधर रहेका छन्। टिमको प्रशिक्षक असिम सुवेदी रहेका छन् जो अस्ट्रेलियाको लेभल-२ उत्तीर्ण प्रशिक्षक हुन्। टिममा आशिष जिसी, सुशन गुरुङ, निकेश खनाल, पारस लामिछाने, धिरज दास जस्ता युवा र अनुभवी खेलाडीहरुको मिश्रण रहेको छ।

२०७७ पुष ४, शनिबार मा प्रकाशित