अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत आइतबार जारि ११ औं खेलमा ड्यानियल क्रिस्टियनले लिग इतिहासकै दोस्रो छिटो अर्धशतक बनाउँदा सिड्नी सिक्सरले एडिलेड स्ट्राइकर्सलाई १७८ रनको चुनौतिपूर्ण विजयी लक्ष्य प्रस्तुत गरेको छ।
होबार्ट स्थित बेलीरिभ ओभल मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको सिक्सरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७७ रन बनाउन सक्यो। उसका लागि ड्यानियल क्रिस्टियनले सर्वाधिक ५० तथा ड्यानियल ह्युजले ४६ रन बनाए।
सुस्त सुरुवात गरेको सिक्सरले ओपनरद्वय जोश फिलिपेलाई ६ तथा ज्याक एडवार्ड्सलाई १७ रनमा गुमायो। दुवै ब्याट्सम्यान ड्यानियल वोरलको बलिंगमा विकेटकिपर एलेक्स क्यारीबाट समातिए। सिक्सरले पवारप्लेमा १ विकेट गुमाएर मात्र २९ रन जोडेको थियो। तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका जेम्स भिन्स १२ औं ओभरमा १९ रन बनाएर राशिद खानबाट बोल्ड भए। सुस्त सुरुवात बाबजुद चौथौं विकेटको लागि कप्तान ह्युजले क्रिस्टियनसंग ५८ रनको विस्फोटक साझेदारी गर्दै सिक्सरको इनिंग उकासे। क्रिस्टियनले १६ बलमा ५० रन बनाए जुनक्रममा ४ चौका र ५ छक्का हिर्काए। उनलाई १५ औं ओभरमा एस्टोन एगारले पेभेलियन फर्काए।
The second fastest 50 in Big Bash history!
That was insane batting, @danchristian54 #BBL10 pic.twitter.com/H7gwSwdkLd
— KFC Big Bash League (@BBL) December 20, 2020
एक किनारबाट विकेट गएता पनि अर्को किनार सम्हालेका कप्तान ह्युजले ४१ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ४६ रन बनाए। यस्तै, अन्तिममा जोर्डन सिल्कले ९ बलमा १५ तथा जाशोन होल्डरले ५ बलमा ११ रन बनाउँदै सिक्सरलाई चुनौतिपूर्ण योगफलतर्फ डोर्याए।
ड्यानियल क्रिस्टियनको कीर्तिमानी अर्धशतक
५ नम्बरमा ब्याटिंग गर्न आएका ड्यानियल क्रिस्टियनले १६ बलमा ५० रनको विस्फोटक पारि खेल्दै खेलको पाटो परिवर्तन गराए। १५ बलमा आफ्नो अर्धशतक पुरा गरेका उनि बिग ब्यास लिग इतिहासमै छिटो अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका छन्।
१२ औं ओभरमा ५८ रनको योगफलमै सिक्सरले ३ विकेट गुमाएको थियो जसपछि उनि ब्याटिंग गर्न आएका थिए। सुरुवातबाटै बलरमाथि हावी भएका उनले लियाम स्कोटले गरेको १३ औं ओभरमा ३ छक्का र १ चौका प्रहार गर्दै २२ रन बटुले। उनले १४ औं ओभरमा लेग स्पिनर राशिद खानको बलिंगमा २ छक्का हिर्काए भने एगारले गरेको १५ औं ओभरको पहिलो ३ बलमा लगातार चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे। लिग इतिहासमै दोस्रो छिटो अर्धशतक बनाए लगत्तै उनि एगारको बलिंगमा वेल्सबाट समातिए। यो उनको बिग ब्यास इतिहासकै सातौँ अर्धशतक हो। यसअघि उनले २१ बलमा बिग ब्यास लिगमा व्यक्तिगत छिटो अर्धशतक बनाएका थिए।
लिग इतिहासकै छिटो अर्धशतकको कीर्तिमान क्रिस गेलको नाममा रहेको छ। उनले २०१६ मा मेलबर्न रेनिगेड्सको प्रतिनिधित्व गर्ने क्रममा एडीलेड्सविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए।
स्ट्राइकर्सको बलिंगतर्फ ड्यानियल वोरल (४-०-१२-२) र एस्टोन एगारले (४-०-४७-२) समान २ विकेट लिए भने राशिद खानले १ विकेट हात पारे।
