विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी) बाट सम्पूर्ण प्रक्रिया पूरा गरेर क्लब लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली क्लब बनेको छ ।
अब नेपालबाट आर्मीले मात्र एएफसीले आयोजना गर्ने क्लब स्तरीय प्रतियोगिता एएफसी कप खेल्न पाउनेछ । आर्मीले यसअघि गरेको प्रयासमा केही प्रक्रिया कमी हुँदा लाइसेन्स पाउनबाट वञ्चित भएको थियो । क्लब लाइसेन्स सिफारिस गर्न बनेको फस्र्ट इन्स्ट्याबडीले आर्मीको आवेदन खारेज गरेको थियो । आफ्नो आवेदनमा भएको कमजोरी सच्च्याउँदै आर्मीले अपिल समितिमार्फत आवेदनमा पुनर्विचार गर्न अपिल गरेको थियो ।
आर्मीको आवेदनले सम्पूर्ण प्रक्रिया पालना गरेको देखिएपछि एएफसी लाइसेन्स दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघले जनाएको छ । आर्मीले क्लबको विधान र अन्य आवश्यक मापदण्ड पूरा त्रिभुवन आर्मी फुटबलको बेग्लै क्लब दर्ता थियो ।
यससँगै आर्मीले खेलाडी विमा, स्वास्थ्य परिक्षण लगायत एकेडेमी निर्माणको प्रक्रिया समेत अघि बढाएको छ । घरेलु मैदानका रुपमा आर्मीसँग मुख्यालय भद्रकालीमा सुविधा सम्पन्न मैदान रहेको छ ।
एएफसीले सन् २०१६ मा क्लब लाइसेन्स सुरु गर्दै सन् २०१८ देखि अनिवार्य रुपमा यसलाई लागु गर्न पाउने नियम बनाएको थियो । एएफसी प्रतियोगिता खेल्न सन् २०१६ देखि दुई वर्ष केही लचकता अपनाएको एएफसीले सन् २०१८ देखि भने अनिवार्य रुपमा दिइएको १८ वटा मापदण्ड पूरा गर्न भनेको थियो ।
