प्रम कप छनोट गण्डकी : अर्जुनले उत्कृस्ट प्रदर्शन गर्दा कास्कीलाई उपाधि

नवलपुरलाई ८६ रनले सहजै पराजित गर्दै कास्कीले प्रधानमन्त्री कप, गण्डकी प्रदेश पुरुष छनोट प्रतियोगिता जितेको छ।

पोखरा रंगशाला क्रिकेट मैदानमा सम्पन्न खेलमा कास्कीले दिएको २०२ रनको लक्ष्य पछ्याउदा नवलपुरले ३१ ओभरमा ११५ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

नवलपुरलाई सानो योगफलमा समेट्न कास्कीका बलर बिपिन खत्री र दिपेश खत्रीले समान ३ विकेट लिए। यस्तै सुबाश भण्डारीले २ तथा अमृत गुरुङ र देभ शाहले समान १ विकेट लिए।

नवलपुरको लागि ओपनर राहुल शर्माले सर्वाधिक ३२ रन, संदेश बस्नेतले अविजित २९ तथा हमाल परियारले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Arjun Kumal & Subash Bhandari 

यस अघि टस हारेर ब्याटिंग गरेको कास्कीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाएको थियो। कास्कीको लागि नेपाली यु-१६ टिमको लागि खेलीसकेका ओपनर अर्जुन कुमालले सर्वाधिक ७७ रन बनाए। उनले १२७ बलमा १० चौका प्रहार गरे।

एक समय ५७ रनमै ४ विकेट गुमाएको कास्कीको इनिंग सम्हाल्ने क्रममा कुमालले पाँचौ विकेटको लागि सुबास भण्डारीसंग ६८ रनको तथा छैठौं विकेटको लागि बिपिन खत्रीसंग ४६ रनको साझेदारी गरेका थिए। सुबासले ३४, बिपिन खत्रीले ३० तथा अमृत गुरुङले अविजित १८ रन बनाए।

नवलपुरको बलिंगमा बिशाल पौडेलले २ तथा बिज्ञान गौतम, लकी सापकोटा र हमाल परियारले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच कास्कीका अर्जुन कुमाल चुनिए।

प्रतियोगिताकै उत्कृस्ट खेलाडी कास्कीका सुबास भण्डारी, उत्कृस्ट ब्याट्सम्यान कास्कीकै अर्जुन कुमाल तथा उत्कृस्ट बलर पनि कास्कीकै सुबास भण्डारी चुनिए। सुबासले ३ खेलमा ५३ रन बनाउनुको साथै ८ विकेट समेत लिएका थिए भने अर्जुनले ३ खेलमा १४२ रन बनाए।

२०७७ पुष ८, बुधबार मा प्रकाशित