बक्सिंग डे टेस्टको लागि भारतको अन्तिम-११ घोषित, शुबमन र सिराजले डेब्यु गर्ने

शुबमन गिल र मोहम्मद सिराजले मेलबर्नमा शनिवार देखि सुरु हुने बक्सिंग डे टेस्टमा भारतको लागि डेब्यु गर्ने भएका छन्। चार टेस्टको सिरिज अन्तर्गत दोश्रो टेस्टको लागि भारतले शुक्रबार आफ्नो अन्तिम-११ सार्वजनिक गरेको हो।

भारतले पहिलो टेस्टको अन्तिम-११ मा चारवटा परिवर्तन गरेको छ जसमध्ये २ वटा परिवर्तन बाध्यत्मक रहेको छ। नियमित कप्तान बिराट कोहली भारत फर्किएका छन् भने मोहम्मद शामी घाइते भएका छन्।

फर्ममा नरहेका ओपनर पृथ्वी शको स्थानमा २१ वर्षीय शुबमन गिलले मायाँक अग्रवालसंग ओपनिंग ब्याटिंग गर्नेछन्।

पहिलो टेस्टमा पृथ्वी शको टेक्निक माथि धेरैले औला ठड्याएका थिए जो भित्र पसेको बलमा निरिह सावित भएका थिए। कोहलीको सट्टा आगामी खेलहरुमा कप्तानी गर्ने जिम्मेवारी पाएका अजिंके रहानेले ओपनिंग ब्याट्सम्यानहरुलाई स्वतन्त्रता दिने र उनीहरुबाट स्वाभाविक खेलको अपेक्षा गरेको बताएका छन्।

“ओपनिंग ब्याट्सम्यानको भूमिका अस्ट्रेलियामा मात्रै हैन जहाँ पनि महत्वपूर्ण हुन्छ त्यसैले म उनीहरुलाइ दबाब दिन चाहन्न। म उनीहरुलाई आफ्नो खेल खेल्ने स्वतन्त्रता दिन चाहन्छु।” रहानेले बताए।

सुत्केरी बिदामा भारत फर्केका बिराट कोहलीको स्थानमा टिमले स्पिन अलराउण्डर रभिन्द्र जडेजालाई मौका दिएको छ जसले टिमको बलिंग आक्रमण बलियो बनाउने अपेक्षा गरिएको छ। रिशभ पन्तले विकेटकिपरको रुपमा रिद्दिमान साहाको ठाउँ लिनेछन्। यस्तै दायाँ हाते पेसर मोहम्मद सिराजले मोहम्मद शामीको स्थानपूर्ति गरेका छन् जो पाखुरामा फ्र्याकचर भए पछि सिरिजबाटै बाहिर भैसकेका छन्।

हनुमा विहारीले नम्बर-५ मा ब्याटिंग गर्न सक्नेछन् भने रहानेले कोहलीले ब्याटिंग गर्ने चौथो नम्बरमा ब्याटिंग गर्नेछन्। टिममा केएल राहुललाई भने पुनः मौका दिईएन। जडेजाले फिटनेस टेस्ट पास गरेपछि राहुलले मौका नपाएका हुन्।

“हाम्रो पछिल्लो नेट सेसनहरु र तयारी निकै राम्रो भएको छ। पछिल्लो टेस्टमा हामीले २ दिन राम्रो क्रिकेट खेल्यौं तर एउटा खराब सेसनले गर्दा खेलमा नियन्त्रण पूर्णत गुमाउन पुग्यौं। हामि पहिलो टेस्टमा बनाएको योजना अनुरुप दोश्रो टेस्टमा मैदानमा उत्रनेछौँ।

दोश्रो टेस्टको लागि भारतको टिम : मायाँक अग्रवाल, शुबमन गिल, चेतेश्वर पुजारा, अजिंके रहाने, हनुमा विहारी, रिशभ पन्त, रभिन्द्र जडेजा, रभीचन्द्रन आश्वी, जस्प्रित बुम्राह, उमेश यादव, मोहम्मद सिराज

सिरिज अन्तर्गत भारतले पहिलो टेस्ट ८ विकेटले गुमाएको थियो। दोश्रो टेस्ट शनिवार विहान नेपाली समय ५:१५ बजे सुरु हुनेछ।

यो पनि पढ्नुस :-

के हो बक्सिंग डे टेस्ट

आईपीएलमा २ टिम थपिने पक्का, आईपीएल २०२२ मा १० टिम खेल्ने

टि-१० लिग : कुन टिममा को-को खेलाडीहरु छन् ( सम्पूर्ण जानकारी )

२०७७ पुष १०, शुक्रबार मा प्रकाशित