बिग ब्यास : पुरन र म्याक्स्वेलको कीर्तिमानी साझेदारी

अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत शनिबार जारि १५ औं खेलमा निकोलास पुरनले कीर्तिमानी पारि खेल्दा ग्लेन म्याक्स्वेल कप्तानीको मेलबर्न स्टार्सले ड्यानियल ह्युज कप्तानीको सिड्नी सिक्सरलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कारारा ओभल स्टेडियममा टस हारेर ब्याटिंगको निम्तो पाएको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा  ५ विकेट गुमाउँदै १९३ रन बनाएर सिक्सरलाई १९४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। उसका लागि कप्तान म्याक्स्वेलले अविजित ७१ तथा पुरनले ६५ रन बनाए।

खराब सुरुवात गरेको स्टार्सले ८.२ ओभरमा ४९ रनको योगफलमै सुरुवाती ४ विकेट गुमाउँन पुग्यो। ओपनरद्वय आन्द्रे फ्लेचर र बेन डंकले क्रमशः ४ र २४ रन बनाए भने हिल्टन कार्टराइटले १४ तथा निक लार्किनले २ रनको योगदान दिए। त्यसपछि, कप्तान ग्लेन म्याक्स्वेलले निकोलास पुरनसँग पाचौं विकेटको लागि १२५ रनको शतकीय साझेदारी गर्दै स्टार्सको इनिंग अघि बढाए। स्टार्सको लागि यो इतिहासमै चौथौं सर्वाधिक साझेदारी हो। २०२० मा मार्कस स्टोइनिस र हिल्टन कार्टराइटले स्टार्सको लागि २०७ रनको सर्वाधिक साझेदारी गरेका थिए। कप्तान म्याक्स्वेलले ४७ बलमा अविजित ७१ रन बनाए जुनक्रममा समान ५ चौका र ५ छक्का हिर्काए।


बिग ब्यासमा व्यक्तिगत पहिलो खेल खेलिरहेका (डेब्युटन्ट) पुरनले विस्फोटक ब्याटिंग गर्ने क्रममा २६ बलमा २ चौका र ८ छक्काको सहयोगमा ६५ रन बनाए। उनलाई १८ औं ओभरमा गुरिन्दर सन्धुले आउट पारेका थिए। कार्लोस ब्याथवेटको बलिंगमा छक्का प्रहार गर्दै १६ बलमा आफ्नो अर्धशतक पुरा गरेका पुरन मेलबर्न स्टार्सको लागि सर्वाधिक छिटो तथा बिग ब्यास इतिहासमै छिटो अर्धशतक बनाउने चौथौं खेलाडी बनेका छन्।। ८ छक्का प्रहार गरेका पुरन स्टार्सको लागि बिग ब्यास इतिहासमै एक इनिंगमा सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। लुक राइटले होबार्ट हरिकेन्सविरुद्ध २०१२ मा सर्वाधिक ९ छक्का हिर्काएका छन्।

सिक्सरको बलिंगतर्फ स्टिभ ओ’ किफले (२-०-१३-२) सर्वाधिक २ विकेट लिए भने जेशन होल्डर, बेन ड्वारशियस र गुरिंदर सन्धुले समान १ विकेट हात पारे।

२०७७ पुष ११, शनिबार मा प्रकाशित