अष्ट्रेलियामा जारि १० औं संस्करणको बिग ब्यास लिग अन्तर्गत शनिबार सम्पन्न १५ औं खेलमा ड्यानिल ह्युज कप्तानीको सिड्नी सिक्सरले ग्लेन म्याक्स्वेल कप्तानीको मेलबर्न स्टार्सलाई १ विकेटले पराजित गरेको छ। जितसंगै ४ खेलमा ३ जित र १ हारसहित १२ अंक बटुलेको सिड्नी अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ भने ४ खेलमा २ जित र १ हारपछि १० अंकसहित स्टार्स अंकतालिकाको चौथौं स्थानमा छ।
कारारा ओभल स्टेडियममा स्टार्सले दिएको १९४ रनको विजयी लक्ष्य पछ्याएको सिक्सरले १९.५ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। सिक्सरको जितमा कप्तान ह्युजले ९६ रनको कप्तानी पारि खेले।
अत्यन्तै खराब सुरुवात गरेको सिक्सरले इनिंगको दोस्रो ओभरमा २ विकेट गुमाउन पुग्यो। ओपनरद्वय ज्याक एडवाड्स पहिलो ओभरमा तथा जेम्स भिन्स दोस्रो ओभरमा खाता नखोली आउट भए। तेस्रो विकेटको लागि ओपनरद्वय जोश फिलिपेले कप्तान ड्यानियल ह्युजसँग ५० रनको अर्धशतकीय साझेदारी गर्दै सिक्सरको इनिंग सम्हाले। फिलिपे १९ बलमा २२ रन बनाएर आठौँ ओभरमा एडाम जाम्पाको बलिंगमा विकेटकिपर आन्द्रे फ्लेचरबाट समातिए। जोर्डन सिल्क ९ तथा ड्यानियल क्रिस्टियन १४ रन बनाएर आउट भएपछि कप्तान ह्युजले जेसन होल्डरसँग २६ रनको साझेदारी गर्दै सिक्सरको इनिंग अघि बढाए जसपछि ११ बलमा ३ चौका र १ छक्काको मद्धतमा १८ रन बनाएका होल्डरलाई जाम्पाले आउट पारे।
कप्तान ह्युजले कार्लोस ब्राथवेटसँग सातौँ विकेटको लागि ४७ रनको महत्वपूर्ण साझेदारी गर्दै सिक्सरलाई खेलमा जीवित राखे। ब्राथवेट १२ बलमा १ चौका र २ छक्काको सहयोगमा २१ रन बनाएर १९ औं ओभरमा आउट भए। एक किनारबाट विकेट गएता पनि अर्को किनार सम्हालेका कप्तान ह्युजले ५१ बलमा ९६ रनको कप्तानी पारि खेले जुनक्रममा ६ चौका र ७ छक्का हिर्काए। उनि अन्तिम ओभरमा म्याक्स्वेलको बलिंगमा आउट भए।
The final ball.
WHAT JUST HAPPENED?! 😱 #BBL10 pic.twitter.com/on7m5ulS68
— KFC Big Bash League (@BBL) December 26, 2020
सिक्सरलाई जितको लागि अन्तिम २ ओभरमा २३ रनको आवश्यकता रहेको थियो। लियाम ह्याचरले १९ औं ओभरमा कार्लोस ब्र्याथवेटको विकेट लिंदै मात्र ३ रन खर्चिएपछि सिक्सरलाई अन्तिम ओभरमा २० रनको खाँचो थियो। ग्लेन म्याक्स्वेलले गरेको अन्तिम ओभरमा कप्तान ड्यानियल ह्युजले पहिलोमा छक्का, दोस्रोमा चौका र पुन: तेस्रो बलमा छक्का प्रहार गर्दै सिक्सरलाई जिततर्फ उन्मुख पारे। लगत्तै चौथौ बलमा म्याक्स्वेलले ह्युजलाई आउट पारेपछि खेल रोमान्चक बन्यो।
सिक्सरलाई अन्तिम २ बलमा १ विकेट बाँकी रहदा जितको लागि ४ रनको आवश्यकता थियो। म्याक्स्वेलले गरेको पाचौं बलमा स्टिभ ओ’ किफले एल्बीडब्ल्यु ४ रन बटुल्दै सिक्सरलाई सनसनीपूर्ण जित दिलाए।
स्टार्सको बलिंगतर्फ लियाम ह्याचरले (४-०-३३-३) ले सर्वाधिक ३ तथा एडाम जम्पा र नाथन कुल्टर-नाइलले समान २ विकेट लिए। यस्तै, ग्लेन म्याक्स्वेल र बिल्ली स्ट्यानलेकले समान १ विकेट हात पारे।
यसअघि टस हारेर ब्याटिंगको निम्तो पाएको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएर सिक्सरलाई १९४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। उसका लागि कप्तान ग्लेन म्याक्स्वेलले अविजित ७१ तथा निकोलास पुरनले ६५ रन बनाए।
खराब सुरुवात गरेको स्टार्सले ८.२ ओभरमा ४९ रनको योगफलमै सुरुवाती ४ विकेट गुमाउँन पुग्यो। ओपनरद्वय आन्द्रे फ्लेचर र बेन डंकले क्रमशः ४ र २४ रन बनाए भने हिल्टन कार्टराइटले १४ तथा निक लार्किनले २ रनको योगदान दिए। त्यसपछि, कप्तान ग्लेन म्याक्स्वेलले निकोलास पुरनसँग पाचौं विकेटको लागि १२५ रनको शतकीय साझेदारी गर्दै स्टार्सको इनिंग अघि बढाए। स्टार्सको लागि यो इतिहासमै चौथौं सर्वाधिक साझेदारी हो। २०२० मा मार्कस स्टोइनिस र हिल्टन कार्टराइटले स्टार्सको लागि २०७ रनको सर्वाधिक साझेदारी गरेका थिए। कप्तान म्याक्स्वेलले ४७ बलमा अविजित ७१ रन बनाए जुनक्रममा समान ५ चौका र ५ छक्का हिर्काए।
बिग ब्यासमा व्यक्तिगत पहिलो खेल खेलिरहेका (डेब्युटन्ट) पुरनले विस्फोटक ब्याटिंग गर्ने क्रममा २६ बलमा २ चौका र ८ छक्काको सहयोगमा ६५ रन बनाए। उनलाई १८ औं ओभरमा गुरिन्दर सन्धुले आउट पारेका थिए। कार्लोस ब्याथवेटको बलिंगमा छक्का प्रहार गर्दै १६ बलमा आफ्नो अर्धशतक पुरा गरेका पुरन मेलबर्न स्टार्सको लागि सर्वाधिक छिटो तथा बिग ब्यास इतिहासमै छिटो अर्धशतक बनाउने चौथौं खेलाडी बनेका छन्।। ८ छक्का प्रहार गरेका पुरन स्टार्सको लागि बिग ब्यास इतिहासमै एक इनिंगमा सर्वाधिक छक्का प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। लुक राइटले होबार्ट हरिकेन्सविरुद्ध २०१२ मा सर्वाधिक ९ छक्का हिर्काएका छन्।
सिक्सरको बलिंगतर्फ स्टिभ ओ’ किफले (२-०-१३-२) सर्वाधिक २ विकेट लिए भने जेशन होल्डर, बेन ड्वारशियस र गुरिंदर सन्धुले समान १ विकेट हात पारे।
