दोश्रो टेस्ट जित्दै भारतद्वारा सिरिज बराबरी

घरेलु टोलि अस्ट्रेलियालाई दोश्रो टेस्टमा ८ विकेटले पराजित गर्दै भ्रमण टोलि भारतले ४ टेस्ट म्याचको सिरिज १-१ को बराबरी गरेको छ। सिरिज अन्तर्गत पहिलो टेस्टमा घरेलु टोलि ८ विकेटलेनै विजयी भएको थियो।

तेश्रो दिनको समाप्तिमा १३३/६ को अवस्थामा रहँदै २ रनको अग्रता हाँसिल गरेको अस्ट्रेलियाले तेश्रो दिन बाँकी ४ विकेट गुमाउदै योगफलमा थप ६७ रन जोड्न सक्यो। कुल ६९ रनको अग्रता लिंदै भारतलाई ७० रनको लक्ष्य प्रस्तुत गर्यो।

लक्ष्य पछ्याउने क्रममा भारतका ओपनर मायाँक अग्रवाल ५ तथा चेतेश्वर पुजारा ३ रन बनाएर पेभेलियन फर्किए। तेश्रो विकेटको लागि अर्का ओपनर शुबमन गिलले कप्तान अजिंके रहानेले अविजित ५१ रनको साझेदारी गर्दै टिमलाई जितसम्म डोर्याए।  १५.५ ओभरमा २ विकेट गुमाएर भारतले लक्ष्य पुरा गर्यो।

रहानेले अविजित २७ तथा गिलले अविजित ३५ रन बनाए। अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्क र प्याट कमिन्सले समान १ विकेट लिए।


टेस्टमा टस जितेर पहिले ब्याटिंग गरेको अस्ट्रेलियाले पहिलो इनिंग्समा १९५ रन बनाएको थियो। भारतले पहिलो इनिंग्समा कप्तान अजिंके रहानेको शतक मद्दतले ३२६ रन बनाउदै १३१ रनको अग्रता पाएको थियो। अस्ट्रेलियाले दोश्रो इनिंग्समा २०० रन मात्र बनाउन सकेपछि भारतले टेस्ट जित्न ७० रनको लक्ष्य पाएको थियो।

सन् २०१० पछि भारतले भारत बाहिर टेस्टमा टस हारेर फिल्डिंग गरेपछि टेस्ट जितेको यो पहिलो अवसर हो। अन्तिम पटक भारत बाहिर पहिले फिल्डिंग गर्दै भारतले २०१० मा श्रीलंकालाई कोलोम्बोमा पराजित गरेको थियो।

जितसंगै अजिंके रहाने अस्ट्रेलिया भूमिमा टेस्ट जित हात पारेको खेलमा शतक बनाउने पहिलो कप्तान समेत बनेका छन्। यस्तै रहानेले कप्तानी गरेको ३ वटा खेलमा भारतलाई जित दिलाएका छन्। महेन्द्र सिंह धोनीले कप्तानी गरेको पहिलो ४ वटा टेस्टमा जित दिलाएका थिए।

मेलबर्न क्रिकेट मैदानमा भारतले टेस्ट इतिहासमा १४ टेस्ट खेल्दा जितेको यो चौथो जित हो। कुनै पनि विदेशी मैदानमा भारतले सबैभन्दा बढी टेस्ट जितेको मैदान अब सिड्नी बनेको छ।

सिरिज अन्तर्गत तेश्रो टेस्ट जनवरी ७ तारिखबाट सिड्नीमा सुरु हुनेछ।

२०७७ पुष १४, मंगलवार मा प्रकाशित