काठमाडौं-दशौं सिमरा गोल्डकपको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लब सिमराले मकवानपुर एघारलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सुखद सरुवात गरेको छ ।
नवजनजागृतिको जितमा निरज थापामगरले दुई तथा प्रज्वल थापामगरले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोश्रो
हाफमा मकवानपुरमाथि आयोजक सिमराले तीन गोल गरी हावी रहयो ।
खेलको ४६ औं मिनटमा आयोजकका सुरज ठकुरीले हानेको फ्रिकिक मकवानपुरका गोलरक्षक अनिश देउलाले समहाल्न नसक्दा आयोजकले अग्रता लियो । गोलरक्षक देउलाले पञ्च गरेको रिवाउण्ड बललाई सदुपयोग गर्दै आयोजकका निरज थापामगरले गोलमा परिणत गरे ।
खेलको ६० औं मिनटमा आयोजकका लागि प्रज्वल थापामगरले अग्रता दोव्वर पारे । मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल डिबक्स भित्रै खोस्न सफल प्रज्वलले सहजै गोलमा परिणत गरे ।
खेलको ७१ औं मिनटमा तेस्रो गोल भएको थियो ।
मोहित गुरुङको क्रसमा निरज थापामगरले व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे । कर्नर एरियाबाट मोहितले डिबक्स भित्र निकालेको क्रसबल निरजले सहजै गोलमा परिणत भयो ।
प्रतियोगितामा १० टिम सहभागि छन् । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।
